News

May 17, 2009

पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्याय सगरमाथा चढ्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक जीवन निस्क्रिय बनाएका नेपाल कम्युनिस्ट पार्टीका पूर्वनेता एवं पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्याय सगरमाथा चढ्ने भएका छन् । ८० वर्षीय उपाध्यायले ०६७ जेठमा सगरमाथा चढ्ने औपचारिक घोषणा आज (आइतबार) गर्दैछन् । 'यही जेठमा चढ्ने योजना थियो, तर आर्थिक तयारी पुगेन,' नेपाल कम्युनिस्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री उपाध्यायले नयाँ पत्रिकासँग भने, 'आगामी जेठमा सगरमाथा चढ्दै छु, आशा छ म सफल हुनेछु ।' गतवर्ष सगरमाथा चढेका ७५ वर्षीय मीनबहादुर शेरचनबाट प्रभावित भएर आफ्नो सगरमाथा आरोहण गर्ने इच्छा जागेको उनले बताए । 'मभन्दा थोरै कान्छो व्यक्तिले सगरमाथा चढेर देखाए, मलाई पनि त्यसपछि इच्छा लाग्यो,' उपाध्यायले भने, 'उनले सक्दा म किन नसक्ने ? जे होला भनेर चढ्ने आँट गरेको हुँ ।' उनी सगरमाथा चढ्ने घोषणा आइतबार पर्यटनमन्त्री हिसिला यमीको उपस्थितिमा गर्ने तयारीमा छन् ।उनले गतवर्ष मनाङको थोरोङ्लापास, रसुवाको गोसाइँकुण्ड र गत डिसेम्बरमा सोलुको आइल्यान्ड पिक आरोहण गरेका थिए । '६ हजार ५० मिटर अग्लो आइल्यान्ड पिक चढेँ, तर लेक लागेन अक्सिजन पनि चाहिएन,' उनले भने, 'त्यसपछि त मलाई सगरमाथा पुग्ने आँट आएको छ ।' त्यसबाहेक नागार्जुनमा रक क्लाइमिङिको समेत तालिम लिइसकेको उपाध्यायले बताए । 'सबैभन्दा कान्छो आरोही, धेरैपटक सगरमाथा चढ्ने आरोही, छिटो चढ्ने आरोही सबै नेपाली तर सबैभन्दा बढी उमेरको व्यक्ति चाहिँ नेपाली हुन पाएको छैन,' उपाध्यायले भने, 'सगरमाथा चढ्ने सबैभन्दा बढी उमेरको पनि नेपाली हो भनेर स्थापित गर्न म चढ्न लागेको हुँ । आफूलाई कुनै रोग नभएका कारण सगरमाथा चढ्ने जोश आएको उनको भनाई छ । 'मलाई अहिलेसम्म कुनै रोग छैन,' उनले भने, 'र म सधैं एक्सरसाइज गर्छु, मैले तालिम पनि लिएको छु । अब एक वर्षसम्म थप तालिम लिन्छु ।' सिनियर सिटिजन माउन्ट एभरेस्ट एक्स्पिडिसनको सहयोगमा सगरमाथा आरोहण गर्न लागेका उपाध्यायले भने, 'मलाई सगरमाथा चढ्दा मर्छु कि भन्ने लागेको छैन, यस्तो कुरा कसले देखेको छ र ? कीर्तिमान कायम गर्छु भन्नेमा छु म ।'

No comments: