News

May 14, 2009

माओवादी फेरि सरकारको नेतृत्व गर्न तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले आवश्यक परे फेरि सरकारको नेतृत्व गर्न आफ्नो दल तयार रहेको बताएका छन् । त्यसअघि राष्ट्रपति डा. रामवरण यादवले सेनापतिमाथिको कारबाही कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।'अहिले नै सरकारको नेतृत्व गर्न हामी लालायित छैनौं, हामीमा कुनै सत्तामोह छैन,' राजधानीमा आयोजित कार्यक्रममा बुधबार नेता वैद्यले भने, 'तर अवस्था आयो भने पछि पर्दैनौँ ।' उनको विचारमा माओवादी अन्य दलहरूको नेतृत्वमा सरकारमा जाने पक्षमा छैन । 'कसैको नेतृत्वमा माओवादी सरकारमा जाने कुरा कल्पना पनि नगरे हुन्छ,' नेता वैद्यले भने, 'यदि अरू पार्टीहरूले सक्नुभएन भने हामी नेतृत्व गर्न तयार छौँ । ' प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्ने निर्णय कार्यान्वयन नभएसम्म सरकार गठन हुन नसक्ने उनले दाबी गरे । 'अहिलेकै स्थितिमा सरकार गठन हुन सक्दैन,' माओवादी संगठन विभाग प्रमुख रहेका वैद्यले भने, 'नागरिक सर्वोच्चताको स्थापनापछि हामी प्रतिपक्षमा बस्न तयार छौँ ।' लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनको मूल प्रवाह माओवादी भएको दाबी गर्दै वैद्यले अन्य दलहरू दिल्लीका दलाल भएको समेत आरोप लगाए । 'लोकतन्त्रवादी हुनुको हैसियत अब कांग्रेस र एमालेमा छैन,' उनको आरोप थियो, 'पार्टीहरू दिल्लीका दलाल भइरहेका छन् ।' यही अवस्थामा मुलुक सिक्किमजस्तै हुने खतरा बढेको समेत उनले बताए । प्रधानसेनापति कटवाललाई कारबाही गर्नुअघि प्रधानमन्त्री प्रचण्डले भारतीय वरिष्ठ अधिकारीहरूसँग छलफल गर्न खोजेको विषयमा पार्टीमा छलफल नभएको उनले स्पष्ट पारे । 'यो विषयमा पार्टीमा छलफल भएको छैन,' वैद्यले भने, 'तर उनीहरूको हस्तक्षेप कतिसम्म छ भन्ने कुराको प्रधानमन्त्रीले संकेत गर्न खोज्नुभएको हो ।' राष्ट्रपति डा. यादवको कदमको पक्षमा सर्वोच्च अदालतले फैसला गरे त्यसलाई स्वीकार नगर्ने वैद्यले बताए । 'अदालतको फैसला न्यायपूर्ण वा अन्यायपूर्ण के हुन्छ, त्यो हेरौँ,' उनले भने, 'अदालतको निर्णयप्रति हाम्रो विश्वास हुन पनि सक्छ नहुन पनि सक्छ ।' वैद्यले अदालतमा पनि सामन्तवाद हाबी भएको टिप्पणी गर्दै भने, 'प्रतिक्रियावादीहरूको अदालतको निर्णयलाई हामी नमान्न पनि सक्छौँ ।'

No comments: