News

May 14, 2009

सौतेनी आमाले भारतमा बेचेकी बालिकाको उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुईजना सौतेनी आमा मिलेर भारतमा बेचिएकी एक बालिका बुधबार महेन्द्रनगर आएकी छिन् । भारतको पञ्चाबबाट बालिका सुनिता नेपालीलाई महेन्द्रनगर ल्याइएको हो । नेपालबाट गएको उद्धार टोलीले दस वर्षीया सुनितालाई २८ दिनपछि पञ्जाबको पटियालाबाट उद्धार गरेर ल्याएको हो । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक चेतराज पन्तको नेतृत्वमा गएको टोलीले बुधबार बिहान महेन्द्रनगर पुर्‍याएको छ । पञ्जाबको पटियालामा रहेकी नेपालीमूलकी तुलसी नेपालीको घरबाट सुनिताको उद्धार गरिएको प्रनानि पन्तले बताए । भारतीय प्रहरीको सहयोगमा पटियाला पुगेको नेपाली टोलीले केही दिनभित्रै बालिका सुनितालाई फर्काउने सर्तमा उद्धार गर्न सफल भएको पन्तले जानकारी दिए । '१५ तारिख (शुक्रबार) यहीँ पुर्‍याइदिन्छौं भने, अनि मात्रै सुनितालाई ल्याउन दियो,' सुनितका दाइ भरत नेपालीले भने । बालिका सुनितालाई २८ दिनअघि उनकै सौतेनी आमाद्वय देवी दमाईं र गंगा नेपालीले पञ्चाबकी तुलसीलाई बेचेका थिए । '१६ हजार भारतीय रुपैयाँमा बेचेको भन्ने थाहा भएको छ,' पीडित बालिकाका दाजु भरतले भने । सुनिताकी आमा नभएकाले दुईजना सौतेनी देवी र गंगा मिलेर भारतमा बेचेको भरतको दाबी छ । पञ्जाबमा रहेकी तुलसी गंगाकी जेठी आमा हुन् । उनको परिवार १६ वर्षदेखि पञ्जाबमै घरजम गरेर बस्दै आएको छ । तुलसीले नेपालबाट बालबालिकालाई पञ्जाब लग्ने र पछि उनीहरूलाई देहव्यापारमा लगाउने गरेको सुनिताको उद्धारका लागि पञ्जाब पुगेका प्रहरी नायव निरीक्षक चेतराज पन्तले बताए । कैलालीको गेटा गाविस-५ बरबटा घर भएको सुनिताको परिवार भीमदत्त नगरपालिका-४ महेन्द्रनगरमा होटल सञ्चालन गरी बस्दै आएको छ । गत २८ चैतमा सुनिताका बुबा अर्जुन नेपालीको मृत्यु भएपछि सुनिता भारतमा बेचिएको खुलेको थियो । अर्जुनले घरमा सुनिताको सोधिखोजी गरेपछि दुवै श्रीमतीसँग विवाद उत्पन्न भएको थियो । सुनिता भारतमा बेचेको कुरा लुकाउन दुवै श्रीमती मिलेर अर्जुनको हत्या गरेको सुनिताका दाजु भरतले दाबी गरेका छन् । देवी र गंगाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउसमेत गरेको थियो । उनीहरूले नै दिएको जानकारीका आधारमा पञ्जाबबाट सुनिताको उद्धार गरिएको हो ।तीन दिनअघि पञ्जाब गएको उद्धार टोली सुनितालाई लिएर बुधबार महेन्द्रनगर पुगेको हो । प्रनानि पन्तको नेतृत्वमा सुनितका दाजु भरत नेपाली, रमेश भण्डारी, प्रेम विक र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष दीर्घराज उपाध्यायको टोली पञ्जाब गएको थियो । सुनितालाई माइती नेपाल कञ्चनपुरका आवधिक गृहमा राखिएको छ ।

No comments: