News

May 14, 2009

नेतृ आङ सान सुकीले नजरबन्दका सर्तहरू उल्लंघन आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
याङ्गुन/ म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई नजरबन्दका सर्तहरू उल्लंघन गरेको आरोपमा फेरि मुद्दा चलाइएको छ । उनका वकिलका अनुसार एकजना अमेरिकी पुरुषले नजिकैको तलाउमा पौडेर उनको घरमा पस्ने प्रयास गरेको भनी सो मुद्दा दायर भएको हो । सुकीको थुना अवधि यही मे २७ मा सकिने थियो । अब उनीमाथिको आरोप सही ठहरिएमा उनले पाँच वर्षसम्मको कारावासको सजाय हुन सक्ने जानकारी उनका वकिल ल्हा क्यो मिन्तले दिएका छन् । अब सोमबारका दिन याङ्गुनको इन्सेन कारागारको विशेष अदालतमा उनलाई सोधपुछ गर्ने काम सुरु हुनेछ । बिहीबार उनीमाथि आरोप लगाइएको थियो । ६३ वषीय नेतृ आङ सान सुकी गत १९ वर्षयता मात्रै १३ वर्षको कारावास झेलिसकेकी छिन् । यसमा यसअघिको ६ वर्षे सजाय पनि पर्छ । उनलाई रिहा गर्न लगातार अन्तर्राष्ट्रिय दबाब परिरहँदा पनि अहिंसात्मक आन्दोलनमा लागेकी यी प्रजातन्त्रवादी नेतृ जुन्ता सरकारको कोपभाजनमा परिरहेकी छिन् । पौडेर गुप्त किसिमले उनको घरमा पस्न खोज्ने ५३ वर्षे अमेरिकी नागरिक जोन विलियम येट्टा भएको बताइएको छ । उनलाई गत हप्ता तालमा पौडी खेलेर गुप्त रूपले घरभित्र पसी दुई दिनसम्म बसेको आरोपमा पक्राउ गरिएको छ । ती व्यक्ति सुकीको घरभित्र पस्नुको कारण अझै स्पष्ट भइसकेकोे छैन । तर, उनीमाथि गैरकानुनी रूपमा निषेधित क्षेत्रमा पसेको आरोप लगाइएको छ । अध्यागमन कानुन उल्लंघन गरेको प्रमाणित भए उनलाई हदैसम्मको सजाय हुन सक्छ ।

No comments: