News

May 3, 2009

सरकार र थरूहट वार्ता विनानिष्कर्ष स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र थरूहट संघर्ष समितिबीच शनिबार भएको वार्ता विनानिष्कर्ष स्थगित भएको छ । सरकारले तराईमा गरिएको बन्द फिर्ता लिन गरेको आग्रह संघर्ष समितिले अस्वीकार गरेपछि वार्ता विनानिष्कर्ष सकिएको हो । शान्ति मन्त्रालयमा भएको वार्तामा संघर्ष समितिका तर्फबाट संयोजक डिल्ली चौधरी र सरकारका तर्फबाट शान्ति तथा पुनर्निर्माण मन्त्रीको उपस्थिति रहेको थियो । वार्तामा सरकारका तर्फबाट शान्तिमन्त्री शर्माले थारू समुदायसित सरकारले गरेका सहमति कार्यान्वयन भइरहेको बताउँदै तराई बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए । तर, संघर्ष समितिका तर्फबाट सबै माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने जनाइएको थियो । गत १ चैतमा भएको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त थरूहट संघर्ष समितिले विगत ११ दिनदेखि आन्दोलन गर्दै आएको छ । थारू आन्दोलनका कारण तराईका जिल्लाको यातायात ठप्प हुनुका साथै जनजीवन प्रभावित बनेको छ । संघर्ष समितिका तर्फबाट वार्तामा सहभागी चौधरीले आफ्ना मागमा प्रवेश नै नगरी सरकारले एकतर्फी रूपमा बन्द फिर्ता लिन दबाब दिएपछि वार्ता निष्कर्षविहीन बनेको बताए । मन्त्री शर्माले भने वार्ता सकारात्मक भएको र आइतबार अर्को चरणको वार्ता हुने जानकारी दिए ।

No comments: