News

May 3, 2009

स्वाइन फ्लुको आतंक संसारभरि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली/ प्राणघातक रोग स्वाइनफ्लु भारतमा पनि देखापरेको छ । स्वाइनफ्लुको आशंकामा एक २५ वर्षीय पुरुषलाई परीक्षणका लागि राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको छ । अब भारतसहित १६ देशमा स्वाइनफ्लु देखापरेको पुष्टि भएको छ । दुई साताअघि मात्र अमेरिकाको टेक्सासबाट फर्किएका ती पुरुष भारतको गाजियावाद निवासी हुन् । शुक्रबार बेलुका स्वाइनफ्लुका लक्षणहरू देखिएपछि उनी थप परीक्षणका लागि अस्पताल भर्ना भएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एनके चतुर्वेदीले बताएअनुसार उनलाई अस्पतालको वार्डमा निगरानीका लागि छुट्टै राखिएको छ । दुई दिनपछि उनको स्वास्थ्य परीक्षण प्रतिवेदन सार्वजनिक हुने सम्भावना छ । गत २४ घन्टाभित्र स्वाइनफ्लुको लक्षण भएको आशंका गरिएका पाँचजनालाई परीक्षणका लागि राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको छ । इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टका चिकित्सकहरूले अमेरिकाको सिकागोबाट दिल्ली आएका परमजित कौर तथा जगजीवन सिंह र लन्डनबाट आएका आश्विनीलाई राममनोहर लोहिया अस्पतालमा परीक्षणका लागि पठाएको छ । यसैगरी, हङकङमा स्वाइनफ्लु देखापरेको र दक्षिण कोरियामा पनि स्वाइनफ्लु फैलिएको पुष्टि भएको छ । चीनले मेक्सिकोबाट संघाई आउने उडानमा प्रतिबन्ध लगाएको छ । मेक्सिकोबाट संघाई आउने एक यात्रुमा स्वाइनफ्लु पाइएकाले चीनले यो कदम उठाएको बताइन्छ । दक्षिण कोरियामा पनि मेक्सिकोबाट भर्खरै आएका एक ५१ वर्षीया महिलामा स्वाइनफ्लु भेटिएको छ । स्वाइनफ्लु सबैभन्दा पहिले मेक्सिकोमा भेटिएको थियो । अहिलेसम्म यस रोगबाट मेक्सिकोमा एक सय ६८ व्यक्तिको मृत्यु भएको बताइएको छ । यसैगरी, इजिप्टले स्वाइनफ्लु नियन्त्रण गर्न दुई लाख ५० हजार सुँगुर नष्ट गर्ने भएको छ । सरकारले ६० हजार सुँगुर नष्ट गर्ने काम सुरु गरिसकेका कायरोका गभर्नर अब्देल हलिम वाजिरले बताए । हालसम्म स्वाइनफ्लु नभेटिए पनि अन्य सर्तक हुन सुँगुर मारिन लागेको उनले बताए ।
कहाँ-कहाँ भेटियो स्वाइनफ्लु ?
मेक्सिको - पहिलोपटक फेलापरेको, एक सय ६८ को मृत्यु, १५०० संक्रमित
चीन - एक संक्रमित
दक्षिण कोरिया - नौ संक्रमित
अमेरिका - एकको मृत्यु, एक सय नौ संक्रमित
न्युजिल्यान्ड - चार संक्रमित
क्यानाडा -३५ संक्रमित
ब्रिटेन - ११ संक्रमित
स्पेन - १३ संक्रमित
जर्मनी - दुई संक्रमित
फ्रान्स - दुई संक्रमित
इजरायल - दुई संक्रमित
कोस्टारिका - दुई संक्रमित
नेदरल्यान्ड, स्विट्जरल्यान्ड, अस्टि्रया, डेनमार्क हङकङ र भारतमा पनि संक्रमण

No comments: