News

May 1, 2009

माओवादी सहमति जुटाउन थप छलफल गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई कारबाही गर्नका लागि काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेलगायतका अन्य राजनीतिक दलहरूबीच अन्तिम सहमति जुटाउन थप छलफल गर्ने निर्णय गरेको छ । एकीकृत नेकपा (माओवादी)को बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रधानसेनापतिलाई कारबाही गर्न अन्य दलहरूसँग सहमतिका लागि छलफललाई तीव्रता दिने निर्णय गरेको हो । प्रधानसेनापति रुक्माङ्गद कटवालको कारबाहीको विषयलाई लिएर भारतले प्रत्यक्ष हस्तक्षेप गरेकोप्रति पनि बैठकमा गम्भीर छलफल भएको पार्टीप्रवक्ता एवं सचिवालय सदस्य दीनानाथ शर्माले गोरखापत्रलाई जानकारी दिनुभयो । "भारतको हस्तक्षेपले नेपालको राष्ट्रिय आत्मसम्मानमा गम्भीर आँच पुगेको छ", प्रवक्ता शर्माले भन्नुभयो, "नेपालमा प्रधानसेनापतिलाई कारबाही गर्दा भारतलाई टाउको दुख्ने कारण नै छैन ।" "नागरिक सरकारले सरकार मातहतका निकाय-हरूमा निगरानी राख्न पाउँछ", प्रवक्ता शर्माले भन्नुभयो, "सरकारी कदमविरुद्ध देशीविदेशीको हस्तक्षेप एकीकृत नेकपा -माओवादी)लाई मान्य हुनेछैन ।" सचिवालय बैठकमा सहभागी सदस्यहरूले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई कारबाही गर्नैपर्ने निर्देशन दिएका छन् । यसअघि गरेका निर्णयहरूबाट पछि हट्न नहुने निष्कर्ष पनि बैठकले निकालेको छ । पार्टीप्रवक्ता दीनानाथ शर्माले अब दुई तीन दिनभित्रै प्रधानसेनापति कटवाललाई कारबाही गर्ने जानकारी दिनुभयो । प्रधानसेनापतिलाई कारबाही गर्ने निर्णयबाट सरकार एक कदम पनि पछि नहट्ने प्रवक्ता शर्माले बताउनुभयो । राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बोलाउनुभएपछि उहा बैठक सम्पन्न नभई राष्ट्रपति कार्यालयतर्फ लाग्नुभएको थियो ।

No comments: