News

May 12, 2009

कटवालको काम छत्रमानसिंह गुरुङलाई आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २९ गते । राष्ट्रपति डा. रामवरण यादवबाट प्रधानसेनापतिमा काम जारी राख्न निर्देशन पाएपछि रुक्माङ्गद कटवालले प्रधानसेनापतिको कार्यकक्ष र सवारी प्रयोग गरे पनि कागजपत्रमा हस्ताक्षर भने गर्नुभएको छैन । सैनिक मुख्यालय स्रोतका अनुसार कटवालले नियमित बैठक डाके पनि निर्णय र निर्देशनहरूमा तेस्रो बरीयतामा रहेका रथी छत्रमानसिंह गुरुङलाई 'आदेश अनुसार' भनी हस्ताक्षर गर्न लगाउने गर्नुभएको छ ।राष्ट्रपतिको कदमका बारेमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र सरकारबाट कायममुकायम प्रधानसेनापति नियुक्त रथी कुलबहादुर खड्कालाई दिइएको कायममुकायमको पत्र पनि फिर्ता नभएको अवस्थामा दीर्घकालीन असर पर्न नदिन कटवालले त्यसो गरेको स्रोतले बतायो ।'उच्च सैनिक अधिकृतहरूले नै कटवाललाई हाललाई मिडियामा प्रस्तुत नहुन र सार्वजनिक कार्यक्रममा सरिक नहुन सुझाव दिए अनुसार नै कटवालले त्यसो गरेको' स्रोतले भन्यो । स्रोतका अनुसार सैनिक उच्च अधिकृतहरूले कटवाललाई विवादमा पर्ने काम नगर्न सल्लाह दिएका छन् ।अहिलेसम्ममा कटवालले कामचलाऊबाहेक अरू काम गरेका छैनन् । प्रधानसेनापतिलाई सम्बोधन गरी परेका जाहेरीहरू पनि 'छत्रमानलाई देखाउनू' भनेर कटवालले भन्ने गरेको स्रोतले बतायो ।पहिलेझैँ सैनिक जवानहरूसँग बसेर सहभोज गर्ने र ब्यारेक-ब्यारेक चहार्ने काम भने कटवालले नछोडेको स्रोतले बतायो ।उता सरकारद्वारा कायममुकायम प्रधानसेनापति नियुक्त खड्का भने प्रधानसेनापतिको हैसियतले कटवालले बोलाएको बैठकमा अहिलेसम्म जानुभएको छैन । 'कटवालले बोलाएको बैठकमा खड्कालाई पनि खबर आउँछ तर उहाँ अहिलेसम्म जानुभएको छैन', स्रोतले भन्यो ।सैनिक मुख्यालयमा हरेक शुक्रबार हुने समीक्षात्मक बैठकमा पनि खड्का जानुभएको छैन । प्रधानसेनापतिको अध्यक्षतामा हुने त्यस्तो बैठकमा विभागीय प्रमुखहरूले प्रतिवेदन पेस गर्ने प्रावधान छ ।

No comments: