News

May 13, 2009

भारतले बाराको सीमा क्षेत्रमा नेपाली भूमि अतिक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतले बाराको सीमा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीयले सीमास्तम्भ नै गायब गरेर दसगजामा निजी र व्यापारिक भवनसमेत बनाएका छन् । केही सीमा क्षेत्रको अतिक्रमित भूमिमा भारतीयले खेती गरेका छन् । बाराको सीमा क्षेत्रमा गाडिएका ३८३ प्रमुख सीमास्तम्भको ११ र ३८४ को २७ नम्बरको सीमा स्तम्भको दसगजा क्षेत्रमा भारतीयले व्यापारिक र निजी भवन बनाएका हुन् । मटिहर्वा गाविसको दसगजामा यसरी भवन निर्माण गरिएको हो । हरिहरपुर, दक्षिण झटिकैयालगायतका गाविसमा भारतीयले नेपाली भूमि अतिक्रमण गरेर खेती गरेका छन् । नेपाल-भारतको पाँच सय ८८ सीमास्तम्भमध्ये ८१ वटा भारतले गायब बनाएको प्रहरीकै तथ्यांकमा उल्लेख छ । अन्य ११६ वटा स्तम्भ पनि फुटेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीको तथ्यांक पुरानो भएको र पछिल्लो समयमा अझ बढी सीमास्तम्भ गायब पारिएको विभिन्न संघसंस्थाले जनाएका छन् । पछिल्लो समयमा अतिक्रमण बढे पनि सरकारीस्तरबाट पहल नहुँदा यकिन तथ्यांक आउन नसकेको उद्योग वाणिज्य संघ बाराका रेशम तिवारीले बताए । द्वन्द्वकालमा सीमा क्षेत्रबाट प्रहरी चौकी विस्थापित भएका कारण भारतीयले नेपाली भूमि अतिक्रमण गरेको हरिहरपुरका राम महतोले बताए । सुरक्षाकर्मीसहित अतिक्रमणमा आएका भारतीयले नेपाली भूमिमा खेती गर्दा पनि प्रतिकार गर्न नसकिएको बताउँदै महतोले भने, 'हाम्रो भूमि मिचेर खेती गरिरहेका छन्, कसले बोल्ने ?' यसअघि दक्षिण झटिकैयाका बासिन्दाले भारतीयले अतिक्रमित भूमिमा खेती गरेको भन्दै विरोध जनाएका थिए । उनीहरूले स्थानीय प्रशासनसँग भूमि फिर्ता गर्न माग गरेका थिए । प्रशासनले चासो नदिएपछि अतिक्रमण बढेको बताउँदै स्थानीय किसान भन्छन्, 'सरकार केही गर्दैन, हामीले प्रतिवाद गर्न खोजे ज्यानमार्ने धम्की पाइन्छ ।' प्रहरीले ०६० सालमा सीमास्तम्भको अवस्थाका बारेमा तथ्यांक संकलन गरेको थियो । प्रहरीका अनुसार पिपरपाती गाविस वडहर्वा गाउँको ३६५ नम्बरको प्रमुख सीमास्तम्भ र त्यसको नौदेखि ३५ सहायक स्तम्भ, ३६६ को पाँचदेखि ११ सहायक स्तम्भ, बेल्दारी गाविसस्थित ३६८ नम्बरको १८ देखि २० सहायक स्तम्भ गायब भएका छन् । बगही गाविसस्थित ३७५ नम्बरको प्रमुख स्तम्भसहित एकदेखि १२ सहायक, कबहिगोठको ३७६ प्रमुख स्तम्भसहित एकदेखि चार सहायक, बकढिफलबरियाको ३७७ प्रमुख स्तम्भको दुईदेखि पाँच सहायक, ३७८ नम्बरको ११ देखि ४० सहायक स्तम्भ गायब छन् । साथै, मटिहर्वाको २६ नम्बर प्रमुख स्तम्भको १० देखि १२ सहायक, छतवास्थित २७ नम्बर प्रमुख स्तम्भको सातवटा सहायक र हरिहरपुर गाविसस्थित २७ नम्बर प्रमुख स्तम्भको ८ र ९ सहायक स्तम्भ भारतले गायब बनाएको छ । बिसनपुर्वा, बेल्दारी, बगही र बढकीफुलबरियाका ३६४, ३६२, ३६८, ३७५, र ३७८को ४६ वटा सीमास्तम्भ पनि हराएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले केही पहिल्यै र केही भूमि हालै अतिक्रमण भएको बताए । सीमा क्षेत्रमा सुरक्षा निकायले गस्ती गरेको उल्लेख गर्दै उनले अतिक्रमित भूमिको बारेमा मन्त्रालयलाई जानकारी गराएको पनि बताए । तर, पछिल्लो समयमा अतिक्रमण भएको क्षेत्रका बारेमा तथ्यांक संकलन नभएको उनले स्विकारे । सीमा-विवाद सुल्झाउन यसअघि पटक-पटक नेपाल-भारतका अधिकारीबीच छलफल भएको छ । तर, अतिक्रमण रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पटक-पटकका बैठक विनानिर्णय सकिएकाले अतिक्रमण नरोकिएको हो ।

No comments: