News

Apr 18, 2010

ज्वालामुखीका कारण विश्वभरी हवाई यातायातको अस्तव्यस्तता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आइसल्याण्डमा फुटेको ज्वालामुखीका कारण उत्पन्न हवाई यातायातको अस्तव्यस्तता विश्वभरी फैलिरहेको छ। एसियाबाट युरोप जाने कैयौं उडानहरु रद्द गरिएका छन्। प्रमुख शहरहरुका होटेलहरु अलपत्र परेका यात्रुहरुले भरिएका छन्। टोक्योको नारिता विमानस्थलको प्रस्थान कक्षमा यात्रुहरु असहज सप्ताहान्त बिताउँदै छन्। सो ठाउँ ज्वालामुखी फुटेको आइसल्याण्डबाट टाढा अर्कै दुनियाँमा छ। तर त्यहाँपनि यात्रुहरु हवाई यातायातमा छाएको अस्तव्यस्ततामा फँसेका छन। नजीकैका होटेलहरुमा कोठा नपाएका यात्रुहरुलाई विमान कंपनीहरुले स्लिपिंग ब्याग र ओढ्ने दिएका छन्। तर चाहिए जति नभएको गुनासो सुनिएको छ। युरोपको आकाश जति लामो समयसम्म बन्द हुन्छ त्यतिनै अलपत्र पर्ने यात्रुहरुको संख्या बढ्नेछ।
लण्डन जान पर्खिरहेका एक बृटिश परिवारले बीबीसीलाई बताए अनुसार उपलब्ध पहिलो उडानमा आफूलाई राख्न लिखित ग्यारेन्टीको माग गर्दै यात्रुहरुले विमान कंपनीका काउण्टरहरु घेरिरहेका छन।
एसियाको एउटा मुख्य केन्द्र सिंगापुरमा शनिबार सबेरै विमान कंपनीहरुले २० भन्दा बढी विमान नउड्ने जानकारी दिएका थिए। अलपत्र परेका यात्रुहरुले शहरमा होटेल कोठा पाउन असंभव जस्तै भएको बताएका छन्। हंगकंगमा पनि त्यस्तै हालत छ। अष्ट्रेलियाको क्वान्टाजले शनिबार युरोपका आफ्ना सबै उडानहरु रद्द गर्दै यात्रुहरुलाई टिकटको पैसा फिर्ता लिन वा पछि कुनै बेला टिकट लिन भनेको छ।
ज्वालामुखीको खरानीले विमानको इन्जिन बिगार्न सक्ने भएकाले युरोपभरी उडानहरू रद्ध गरिएका छन्।
शुक्रबार मात्रै ६० प्रतिशत युरोपीय उडानहरु रद्द गरिएका थिए। टाढा पूर्वका रूस जस्ता देशहरु समेत प्रभावित भएका छन।
जर्मनीका १६ अन्तर्राष्ट्रिय विमानस्थलहरुमध्ये कुनैमा पनि विमानले अवतरण र उडान गरेका छैनन्।
सामान्यत युरोपको सबभन्दा व्यस्ततम मध्येको एक फ्रान्कफर्ट विमानस्थलमा अधिकारीहरुले ट्रान्जिट लाउन्ज र प्रस्थान कक्षहरुलाई साझा शयन कक्ष बनाइदिएका छन। उनीहरुले अलपत्र यात्रुहरुलाई खानेकुरा, पानी र ओढ्नेका साथै १५०० आपत्कालीन बिछ्यौना वितरण गरेका छन।

No comments: