News

Apr 17, 2010

प्रतिबन्धित सुनाखरीको तस्करीमा सक्रिय हुन थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिन्धुपाल्चोक, ३ वैशाख,रक्तचन्दनको कारोबार असुरक्षित बन्दै गएपछि तस्कर प्रतिबन्धित सुनाखरीको तस्करीमा सक्रिय हुन थालेका छन् । रक्तचन्दन निकासी हुने तातोपानी नाकाबाट सुनाखरी चीन जान थालेको छ । अरनिको राजमार्ग हुँदै चीन निकासी गर्न लागिएको ठूलो परिमाणको सुनाखरी बरामद भएपछि यो तथ्य सार्वजनिक भएको हो ।
राजमार्गको अँधेरीमा ना२ख ६२५३ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लामोसाँघुले बिहीबार राति तीन हजार दुई सय ६० किलोग्राम सुनाखरी बरामद गरेको छ । सशस्त्र प्रहरी राजस्व चेकप्वाइन्ट अँधेरीले नियमित जाँचको क्रममा शंका लागेपछि सीमा सुरक्षा कार्यालयलाई खवर गरेको थियो ।
कार्यालय प्रमुख सशस्त्र प्रहरीका एसपी सञ्जयविक्रम राणा ट्रक खोल्न आफैं आएका थिए । १४ बोरा भुजियामुनि ८८ बोरामा सुनाखरी फेला पारिएको एसपी राणाले बताए । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय स्थापना भएयता यति ठूलो परिमाणमा सुनाखरी पक्राउ गरिएको यो पहिलोपटक भएको उनले बताए ।
बरामद सुनाखरी शुक्रबार जिल्ला वनको जिम्मा लगाइएको छ । ट्रक चालक नेत्रबहादुर नेपाल र यात्रु बताउने अर्का एक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् । सुनाखरीको विषयमा थप अनुसन्धान भइरहेको वन र प्रहरीले बताएका छन् ।
बहुमूल्य जडिबुटी तथा वन्यजन्तु ओसारपसारविरुद्धको अभिसन्धि (साइटिस) ले रक्तचन्द र सुनाखरीलगायतको ओसारपसारमा रोक लगाएको छ । नेपाल साइटिसको पक्षधर राष्ट्र भएकाले यसको कारोबारलाई अवैध मानिन्छ । रक्तचन्दन ओसारपसारमा रोकै लगाइए पनि पुर्जी (इजाजतपत्र) लिएर थोरै परिमाणमा सुनाखरीको कारोबार गर्न भने पाइने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तुलाराम घिमिरेले बताए । वन कार्यालयका अनुसार हाल सुनाखरीको चल्ती मूल्य चार हजार रुपैयाँ प्रतिकिलो छ ।

No comments: