News

Apr 25, 2010

माइक्रोसफ्टको 'फिक्स इट' नयाँ सफ्टवेयर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माइक्रोसफ्ट कर्पारेसनले अपरेटिङ सिस्टममा देखापरेका समस्या समाधान तत्कालै समाधान गर्नका लागि 'फिक्स इट' नामको नयाँ सफ्टवेयर ल्याएको छ । यो सफ्टवेयरले विन्डोज सेभेन तथा पुराना अपेरेटिङ सिस्टममा अटोमेटिक डाइगनोसिस सिस्टम इन्स्टल गर्नेछ । हाल बिटा भर्सनमा उलब्ध यो सफ्टवेयर खासगरी विन्डोजको भिस्टा र एक्सपीका प्रयोगकर्ता लक्षित भएको कम्पनीले जनाएको छ । यो प्याकेजले कुनै पनि सफ्टवेयर इन्सटल गर्दा कम्प्युटरमा उत्पन्न हुने सम्भावित जोखिमका बारेमा पूर्वानुमान गर्दै सल्लाहसमेत दिने गर्छ । एकपटक इन्स्टल गरेपछि यो सफ्टवेयरले अपेरटिङ सिस्टमलगायत कम्प्युटरमा जोडिएका अन्य उपकरणमा देखिएका समस्या पहिचान तथा समाधानमा समेत सहयोग पुर्‍याउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फिक्स इटले अपरेटिङ सिस्टमलाई सञ्चालन हुन अवरोध पुर्‍याउने व्यापक देखिएका ३ सयथरीका समस्या समाधान गर्ने क्षमता राख्छ ।
यसबाहेक फिक्स इटले आफूले पहिचान गर्न नसकेका समस्या संग्रह गरी समाधानका लागि माइक्रोसफ्टको विशेषज्ञ टोलीसमक्ष पुर्‍याउनेछ । माइक्रोसफ्टको होमपेजमा भएको सपोर्ट सेक्सनमा गएर डाउनलोड गर्न सकिने यो सफ्टवेयरलाई अन्य अपरेटिङ सिस्टममा पनि चलाउन सकिने कम्पनीले जनाएको छ । विन्डोज एक्सपीको सर्भिसप्याक-३ का प्रयोगकर्ताले मात्रै यसको प्रयोग गर्न सक्नेछन् ।
विन्डोज सेभेनअघिको अपरेटिङ सिस्टम भिस्टमा देखिएको समस्या समाधान गर्नका लागि सन् २००८ को अन्त्यतिर यस्तैखालको सेवा सुरु गरेको भए पनि प्रभावकारी हुन सकेको थिएन । सोही सेवालाई परिमार्जित गर्दै कम्पनीले सफ्टवेयर नै तयार गरेको हो ।

No comments: