News

Apr 19, 2010

अमेरिकामा नाजी प्रदर्शनमा दंगा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यालिफोर्निया/ गोराहरूको प्रभुत्व चाहने एक समूहले अमेरिकाको लस एन्जलस सहरमा शनिबार गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रदर्शनविरोधी झडप भएको छ । गोराहरूको प्रभुत्व चाहने समूहले गरेको प्रदर्शनमा सयौँ प्रदर्शनविरोधी जम्मा भएर प्रदर्शनको विरोध गरेपछि तनाब उत्पन्न भएको हो । झडपमा ढुंगा हानाहान भएपछि कैयौँलाई गिरफ्तार गरिएको थियो । नेसनल समाजवादी पार्टीका ५० जनाजति सदस्यले करिब एक घन्टासम्म नाजीको प्रतीक स्वस्तिक लेखिएको ब्यानर तथा अमेरिकाको झन्डा फहराइरहेका थिए । प्रहरी अधिकारीहरू नगर सभागृहको आँगनमा गोरा प्रभुत्ववादी तथा प्रदर्शनविरोधीहरूका बीचमा उभिएका थिए ।
गोरा प्रभुत्ववादीले हेल्मेट लगाउनुका साथै कालो सैन्य पोसाक लगाएका थिए । लस एन्जलसमा निकै ठूलो आप्रवासी जनसंख्या भएकाले प्रदर्शनका लागि सो ठाउँ छानेको उनीहरूले बताए । उनीहरूले आप्रवासीले जागिर चोरेको र अपराध गरेको आरोपसमेत लगाएका थिए । उनीहरूले विधायकहरूले केही गैरकानुनी आप्रवासीलाई क्षमादान गर्न प्रोत्साहित गरेको विरोधमा प्रदर्शन गरेको बताएका छन् ।
राष्ट्रिय समाजवादी आन्दोलनका क्षेत्रीय निर्देशक जेफ्री रसेल हलले अब आफ्नो समूहले आप्रवासविरोधी राजनीतिक उम्मेदवारलाई सघाउन सुरु गर्ने घोषणा पनि गरेका छन् । गोरा प्रभुत्ववादीको प्रदर्शनमा प्रदर्शनविरोधीले 'हे हे हो हो नाजीहरूको नास होस्' भन्ने नारा लगाएका थिए । पाँच सयजति प्रदर्शनविरोधीले 'नाजी हो, लस एन्जलसबाट भागिहाल पाजी
हो !' तथा जातिवादी बदमास हुन्जस्ता नारा लगाएका थिए । वक्ताहरू आउनुअघि नै दुई पक्षबीच झडप भएको थियो ।

No comments: