News

Apr 22, 2010

तत्काल चुनाव गर्न निर्वाचन आयोग तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तोकिएको समयमा संविधान जारी गर्न नसकिने आशंका र संविधानसभाको म्याद थप र नयाँ निर्वाचनका बारेमा चर्चा चलिरहँदा निर्वाचन आयोगले भने आफूहरू तत्काल निर्वाचन गर्न सक्ने अवस्थामा रहेको जनाएको छ। आयोगले तत्काल निर्वाचन, स्थानीय निकाय निर्वाचन र जनमतसंग्रह गर्न सक्ने अवस्थामा रहेको जानकारी दिएको छ। संसद्को राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा उपस्थित निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले तत्काल निर्वाचनमा जान भने संविधानमा नै व्यवस्था नभएकाले त्यसतर्फभने सोचाइ नभएको बताउनुभयो। उहाँले भन्नुभयो- ‘हामीसँग कम्तीमा तीनवटा निर्वाचन गर्न सक्ने क्षमता छ तर निर्वाचनबारे हाम्रो ऐनमा व्यवस्था नै छैन।’निर्वाचन आयोगमा आवश्यकताअनुसार कर्मचारीको अभाव र निर्वाचनको तयारीका लागि परिचयपत्रदेखि लगत संकलनसम्मका काम गर्नुपर्ने भएकाले कामको चाप बढेको कार्यवाहक प्रमुख आयुक्त उप्रेतीले बताउनुभयो। उहाँले आगामी पहिलो निर्वाचनका लागि निर्वाचन खर्च झन्डै ६ अर्ब रूपियाँ अनुमान गरिएको जानकारी दिँदै निर्वाचन व्यवस्थापनका लागि झन्डै ४ अर्ब रुपियाँ र विद्युतीय उपकरणका लागि झन्डै ३ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। उहाँले विद्युतीय उपकरणका लागि भने भारत सरकार र त्यहाँको निर्वाचन आयोगसँग सहयोगका लागि कूटनैतिक पहल शुरू भइसकेको जानकारी समितिलाई गराउनुभयो।समितिले निर्वाचन आयोगको तयारीबारे जानकारी लिन बुधबार आयोगका पदाधिकारीहरूलाई समितिमा बोलाएको थियो। समितिले नागरिकता परिचयपत्र, राहदानी, मतदाता परिचयपत्र, गृह मन्त्रालयले दिने कार्ड, रासन कार्डलगायतका कार्ड बोक्नुपर्दा नेपाली नागरिकले परिचयपत्र मात्रै ६/७ वटा बोक्नुपर्ने अवस्था आउनेतर्फआफ्नो ध्यानाकर्षा भएको भन्दै आयुक्तहरूसँग आयोगले तयारी गरेको परिचयपत्र वितरणबारे जानकारी माग गरेको थियो।

No comments: