News

Apr 22, 2010

फकाएर बालिका बिहे गर्ने प्रहरी खोरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्लुङ, वैशाख ९- आफ्नै छोरीलाई भेट्न पनि प्रहरी गुहार्नुपर्‍यो, जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएका बाग्लुङ नगरपालिका-७ का बलबहादुर किसानले भने। 'खाई नखाई छोरीलाई पालेँ, हुकाएँ। मलाई थाहै नदिई मेरी छोरीलाई भगाउने (बिहे गर्ने) ? उनले आक्रोश पोखे। छोरीलाई देख्दासाथ झम्टिए र खुसी व्यक्त गरे।
वैशाख ४ गते किसानकी १२ वर्षीय छोरी गौरी किसानलाई आफ्नै भाइले फकाएर बाग्लुङको धम्जा गाविस वडा नं ७ का हिरा किसानसँग बिहे गराएपछि प्रहरीको सहयोगमा छोरी फर्काएका छन्। बालिकालाई लिन केटाको घरमा पुगेका बाबु बलबहादुर किसानलाई उल्टै धम्की दिइएपछि प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले छोरीलाई फर्काएर भेट्न पाउँदा हर्षका आँशु झारे।'सानो नानीलाई फकाएर लैजाने। खोज्न जाँदा लुकाएर धम्की दिने, मैले न्याय पा'म हजुर, किसानले प्रहरीसमक्ष भने। 'काममा गएको थिएँ। कामबाट घर आउँदा त छिमेकीले तेरी छोरी त पोइल गई भनेपछि आकाशबाट खसेजस्तो भएँ- उनले घटना सम्झिए।उनैको उजुरीको आधारमा बालिका बिहे गर्ने बाग्लुङको धम्जा गाविस वडा नं ७ का २१ वर्षीय हिरा किसानलाई प्रहरीले पक्राउ गरेको छ। किसानसँगै बालिकालाई फकाएर घरबाट भगाउन सहयोग गर्ने बालिकाका काका रामु किसान र काकी जमुना किसानलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। बालिकालाई भगाएर लगेपछि एक दिन केटाको घरमा राखेर त्यसपछि दिदी पर्नेको घरमा लुकाएका थिए। दलित समुदायमा भगाएर बिहे गर्ने चलन छ। बालिकाले आफूलाई फकाएर लगेको बताइन्। 'राम्रो केटा छ। तिमीलाई सुख दिन्छ। भारत घुम्न जान पाइन्छ भनेर प्रलोभन देखाए, काकाले केही हुँदैन जाउ भनेपछि गएकी हुँ- बालिकाले भनिन्। बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। बालिका कक्षा २ पढ्दापढ्दै बीचैमा छाडेर घरमै भाइबहिनी हेरेर बस्ने गर्थिन्।बाल विवाह गर्ने हिरा किसान र भगाउन सहयोग गर्ने तीनै जनालाई मुलुकी ऐनको बालविवाह महलअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भएको बाग्लुङका प्रहरी नायव उपरीक्षक विकासराज खनालले बताए।

No comments: