News

Apr 23, 2010

मनिल तामाङको परिवारलाई राहत रकम हस्तान्तरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
वैशाख ८, २०६७, विर्तामोड, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समानुपातिक चुनावप्रणालीमा हुनुपर्छ भनी संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदले अघि बढाएको आन्दोलनमा २०६५ चैत्र ६ गते झापाको धुलाबारी क्याम्पसमा एकात्मक राज्यसत्ताले गोली हानी हत्या गरेका विद्यार्थी शहीद मनिल तामाङको परिवारलाई २०६६ वैशाख ८ गते विर्तामोड झापा, लिम्बुवानमा क्षतिपूर्तिस्वरुप राहत रकम हस्तान्तरण गरिएको छ । विर्तामोड झापाको मुक्ति चोकमा एक कार्यक्रम आयोजना गरी संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक'ले नेपाल सरकार गृहमन्त्रालयबाट प्राप्त रु. दशलाखको चेक शहीदका बुबा भरत तामाङ र आमा ममिता तामाङलाई हस्तान्तरण गरेका हुन् । सो राहत रकम प्रदान गर्ने कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले भने- "नेपालको विद्यमान एकात्मक सरकारले स्ववियुको चुनाव समानुपातिक प्रणालीमा हुनुपर्छ भनेर आन्दोलन गर्दा उल्टै लिम्बुवानी विद्यार्थी मनिल तामाङलाई गोली हानी हत्या गर्यो । अर्का विद्यार्थी मानबहादुर शेर्पा अझै घाइते अवस्थामा उपचार पनि गर्न नपाई बसेका छन् । विद्यार्थी साथी मनिलको हत्या गर्नसक्ने एकात्मक सरकारले लिम्बुवानमा अझ पनि स्ववियुको चुनाव गर्न सकेको छैन । हामीले भनेको जस्तो समानुपातिका चुनावप्रणालीमा चुनाव गरेर समावेशी किसिमको स्ववियु निर्माण गर्नुभन्दा पहिलेकै शैलीमा हालीमुहाली गर्न पल्केका एकात्मक चरित्रका अन्य विद्यार्थी पनि चुप छन् । यो दुखद् कुरा हो । सरकार र सम्बद्ध निकायको लाचार र नालायकीपना हो । मनिलको हत्यापछि हामीले उनलाई शहीद घोषणा गराउन अर्को आन्दोलन गर्नुपर्यो । २०६५ जेष्ठ ११ गते विद्यार्थी शहीद घोषणा गरेको मनिल तामाङको परिवारलाई शहीद घोषणपछि दिइने १० लाख रकम दिन एकात्मक सरकारले धेरै आनाकानी गर्यो । र फेरि हामीले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको भातृसंगठन संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदको अगुवाईमा गत चैत्रमा फेरि वारपारको आन्दोलन घोषणा गर्दामात्र बल्ल शहीद परिवारलाई राहत रकम प्रदान गर्न मन्त्रिपरिषद बाध्य भयो । र, सो राहत रकम आज बल्ल हामी शहीद परिवारलाई हस्तान्तरण गर्न सफल भएका छौं । यो राहत रकम शहीद परिवारको लागि खास केही होइन । लिम्बुवान आन्दोलको लागि पनि यस्ता क्षतिपूर्तिले शहीदको सपना साकार हुँदैन । यो त केवल शहीदको परिवारलाई दिइएको केही सान्त्वना मात्र हो । योभन्दा महान कार्य हामीले जुन अभियान र लक्ष्यमा लड्दा-लड्दै शहीद मनिल र माङतोकले सहादत प्राप्त गरे त्यही महान लक्ष्य सङ्खुवा-अरुण-सफ्तकोशीपूर्वको नौ जिल्ला लिम्बुवानको प्राप्ति र विकास हो । शहीदहरुको सपना यो आन्दोलनलाई हामीले जसरी पनि पूरा गरेरै छाड्नेछौं । अन्ततः सत्यको जित हुनेछ मञ्चसम्बद्ध परिषदको जित हुनेछ र लिम्बुवानलाई मागीखाने भाँडो बनाउनेहरु अन्यहरु धुलो भएर सिद्धिनेछन् ।"
सोही कार्यक्रमलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमलॆ भने- "हाम्रो पार्टी संविधान सभाको २५ मध्ये १४ औं दल भएकोले हामी वैधानिक र राजनीतिक तरिकाले लडेर नौ जिल्ला लिम्बुवान प्राप्त गरिछाड्नेछौं ।" यसरी नै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका प्रथम महासचिव सूर्य माखिले भने- "मनिलसँगै गोली लागेका घाइते मानबहादुर शेर्पालाई केही कथित विद्यार्थी समूहरुले हाम्रो सम्पर्कमा आउन दिएका छैनन् तर हाम्रो संगठन नीज घाइते शेर्पाको उपचारार्थ राहतको लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको छ ।" उक्त कार्यक्रमलाई संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङ संघीय विद्यार्थी युनियन संघीय कार्य समितिका महासचिव नादङ चेम्जोङ संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावतीले पनि सम्बोधन गरेको थिए । मञ्चसम्बद्ध परिषदका झापा अध्यक्ष मानबहादुर साँवाको अध्यक्षता जिल्ला सचिव सुवास राईको स्वागत मन्तव्य र सचिवालय सदस्य लोकसागर साम्बाको उद्घोषणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । त्यहीबेला, केही कथित विद्यार्थी समूहले पत्रकार सम्मेलन गरेर सो राहत आफूहरुमार्फत हस्तान्तरण हुनुपर्ने भन्दै विरोधसमेत गरेको थिए ।

No comments: