News

Apr 29, 2010

नेवार समुदायले संविधानसभा घेराउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेवाः स्वायत्त राज्य मंकाः संर्घष समितिको आयोजनामा नेवार समुदायले अभूतपूर्व रूपमा संविधानसभा घेराउ गरी समयमै संविधान घोषणा गर्न र नेवाः प्रदेशको सुनिश्चितताका लागि दबाब दिएको छ। पचासौं हजार जनसमुदायको सहभागिता रहेको मंकाः संर्घष समितिको घेराउ कार्यक्रममा विभिन्न वक्ताहरूले बोलेका थिए भने सांस्कृतिक कार्यक्रम पनि बीचबीचमा प्रस्तुत गरिएको थियो। संविधानसभालाई तीनतिरबाट घेराउ गरी सभासद्हरूलाई संविधान सभाबाट बाहिर निस्कन समेत नदिई गरेको उक्त घेराउ कार्यक्रम अभूतपूर्व रूपले सफल भएको आयोजकले दाबी गरेको छ। घेराउका लागि काठमाडौंको वसन्तपुरबाट सभासद् हितमान शाक्य, सभासद् हिसिला यमी, सभासद् तीर्थराम डंगोल, मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर, मंका संर्घष समितिका अध्यक्ष सुजीव वज्राचार्यलगायतको नेतृत्वमा जुलुसले शहर परिक्रमा गरी संविधानसभा भवन नयाँ बानेश्वर पुगेको थियो। समयमै संविधान जारी गर्नुपर्ने, नेवाः स्वायत्त राज्य सुनिश्चित हुनुपर्ने, आदि नारा लगाउँदै जुलुसले नगर परिक्रमा गरेको थियो। त्यसै गरी अर्को समूह गौशाला र कोटेश्वरबाट बाजागाजासहित जुलुस निकाली नयाँ बानेश्वर पुगेको थियो भने कीर्तिपुरको नयाँ बजारबाट पनि जुलुस निकाली नयाँ बानेश्वर पुगी संविधानसभा भवन घेराउ गर्न सहभागी हुन आएको थियो।

No comments: