News

Apr 23, 2010

महावाणिज्यदूतावास र जनजाति महासंघ हङकङबीच सम्झदारी कायम

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२२, अप्रील,नेपाली महावाणिज्यदूतावास हङकङ र जनजाति महासंघ हङकङबीच भएको छलफलले आज एक सम्झदारी कायम गरेको छ ।जनजाति महासंघ हङकङले लामो समयदेखि हङकङको लागि नेपाली महावाणिज्यदूतमा जनजाति मूलको महावाणिज्यदूतको माग गर्दै आइरहेको परिप्रेक्षमा नेपाल सरकारले पछिल्लो पल्ट पनि महासंघको उक्त मागलाई बेवास्ता गर्दै गैरजनजाति मूलकै महावाणिज्यदूत नियुक्त गरेपछि उक्त निर्णयको विरोध स्वरुप अन्तिम चरणमा महावाणिज्यदूतलाई औपचारिक बहिसकार गर्दै दूतावासको उपस्थिति रहेको कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने तथा महासंघमा आवद्ध संघ संस्थाले आफ्नो कार्यक्रममा आमन्त्रण नगर्ने निर्णय गरेको थियो । महासंघले अवलम्वन गरेको यस नीतिले बहुसंख्यक जनजाति र विभिन्न जतीय संस्थाहरु रहेको यस हङकङमा दूताबास र जातीय संस्थाहरुबीच ठडिएको एक अदृष्य पर्खालले अति अफ्ठेरोको अनुभूति गराएको थियो । यो गाभीर्यतालाई महसुस गरेर विभिन्न समयमा पत्रपत्रिकाहरुमा पनि विभिन्न खाले विचारहरु बाहिर आइरहेका थिए । ठीक यसै बेला आज यस समस्यालाई मध्यनजरमा राखेर महावाणिज्यदूतावासको कार्यकक्षमा जनजाति महासंघका पदाधिकारीहरुले महावाणिज्यदूत विनोदकुमार उपध्यायसंग छलफल गरेका छन् । जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ, किरातराई यायोक्खाका अध्यक्ष किसन राई, मगर संधका अध्यक्ष मिनबहादुर थापा मगर, तामाङ घेदुङ संघका कुलमान तामाङ, तमु ट्हो ह्युलका रिता गुरुङ, याक्थुङ चुम्लुङका उत्तरमान लिम्बु, सुनुवार समाजका लोकविक्रम सुनुवारलगायतका प्रतिनिधिहरुसंग भएको महावाणिज्यदूत उपाध्यायको उक्त छलफले निम्न तीन बुँदामा सहमति कायम गरेको छ ।
१. जनजाति आन्दोलनलाई सहयोग गर्ने ।
२. जनजाति महासंघ र दूतावासको सम्वन्धलाई सुमधुर पार्दै सहकार्य गर्ने ।
३. जनजाति आन्दोलन र दूतावासको कार्यलाई लिएर एकापसमा कुनै पूर्वाग्रह नराख्ने ।
माथिका तीन बुँदाहरुमा प्रस्ट नलेखिएकोले यस सन्दर्भमा पंक्तिकारले महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङसंग सम्पर्क गरी, के अब महासंघले आफ्नो पूर्व घोषित ‘बहिस्कार’ को कार्यक्रम फिर्ता लिएको हो ? भनि जिज्ञासा राख्दा अध्यक्ष चेम्जोङले यस विषयमा भोलि महासंघको बैठक बसी निर्णय गरिने बताएका छन् ।

No comments: