News

Apr 27, 2010

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच कुराकानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र मुख्य विपक्षी दलबीच दुरी बढिरहेका बेला प्रधानमन्त्री माधव कुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चर्किंदो राजनीतिक संकटका बारे कुराकानी गरेका छन्। तीन ठूला दल एकीकृत माओवादी, नेपाली काँग्रेस र एमालेका शीर्षस्थ नेताहरु समेत सहभागी कुराकानीमा संकट निकासका बारे सहमति भने हुन सकेन। शनिबारदेखि शुरु हुने भनिएको माओवादीको सडक आन्दोलन र आन्दोलनको सामना गर्ने सरकारको तयारीमा केन्द्रित मानिसहरुको चासोका बीच प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई कुराकानीका निम्ति निम्त्याएका थिए।
एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइराला समेतको उपस्थितिमा भएको उक्त भेटघाटले गएको शनिबारदेखि स्थगित उच्चस्तरीय संयन्त्रको बैठकको झझल्को दिएको थियो।
भेटघाट आआफ्ना कुरा राख्ने काममै सीमित भएको थियो। प्रधानमन्त्री नेपालका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार लामो संवादहीनता तोड्ने उद्देश्यले गरिएको उक्त भेटघाटबाट ठोस सहमतिको अपेक्षा गरिएको थिएन।
सत्तापक्ष र विपक्षका बीच जमेको बरफ पगाल्ने प्रयासले तुरुन्त नतीजा दिने आशा धेरैले गरेका थिएनन्।
बरफ निक्कै कडा संग जमेको कुरा त उक्त बैठक अघि दुबै पक्षले सार्वजनिक गरेको अडानबाट प्रष्ट भएको थियो। प्रधानमन्त्रीसंग संवादको निम्ता मान्न एउटा पाँचतारे होटेल पुग्नु केही अबेर अघिमात्र अर्को पाँचतारे होटेलमा भएको पत्रकारहसंगको अन्तर्क्रियामा माओवादी अध्यक्ष प्रचण्ड निक्कै आक्रामक देखिएका थिए।
उनले भने, “मई दिवस (बैसाख १८ गते)को जनप्रदर्शनसम्म पनि शान्ति र संविधानको सुनिश्चितताका लागि आवश्यक सहमति नगरिएमा हाम्रो पार्टीले बैशाख १९ गतेदेखि अनिश्चितकालीन देशव्यापी राजनीतिक हडताल गर्नेछ।“ सत्ताधारी दश दलको बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निष्कर्ष पनि कम आक्रामक थिएन ।

No comments: