News

Apr 26, 2010

सर्तसहित प्रधानमन्त्री राजीनामा दिन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ वैशाख,प्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख तीन दलसँग राष्ट्रिय सहमतिको प्रस्ताव माग्ने भएका छन् ।उनले तीन दल एकमत भए आफू तत्काल राजीनामा दिन तयार रहेको बताएका छन् ।उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका लागि एमाले स्थायी समितिले पार्टीको धारणा तय गर्न आइतबार डाकेको बैठकमा प्रधानमन्त्री नेपालले शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिका लागि दलहरू एकमत भए आफू बाधक नहुने बताएका हुन् ।
शान्ति र संविधान निर्माण तथा शक्ति बाँडफाँडबारे तीन दल सहमतिमा पुगेपछि राजीनामा गर्ने मनसाय प्रधानमन्त्रीले व्यक्त गरेको बैठक स्रोतले बतायो । 'शान्ति र संविधान निर्माणलाई कसरी टुंगोमा पुर्‍याउने भन्ने विषयमा मुख्य दलबीच ठोस सहमति भए र शक्तिबाँडफाँडमा दलहरू टुंगोमा पुगे म बाधक बनेर बस्दिनँ,' प्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, 'अब यस विषयमा दलहरूसँग साझा प्रस्ताव माग्नुपर्छ ।'
बैठकमा संयन्त्रमा निकासका लागि प्रधानमन्त्री र पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल भयो । स्रोतका अनुसार प्रधानमन्त्री नेपालले शान्ति, संविधान र सत्ता साझेदारीबारे प्रमुख तीन दलसँग साझा धारणा माग्ने र पार्टी केन्द्रीय कमिटी बैठकले पारित गरेको सर्तका आधारमा राष्ट्रिय सहमतिको दृष्टिकोण प्रस्तुत गर्ने निर्णय स्थायी समितिले गरेको छ ।

No comments: