News

Apr 18, 2010

संविधान निर्माण गर्न अझै एक वर्षः एमाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (एमाले) संसदीय दलको चार दिनदेखि जारी बैठकमा सभासद्हरूले बोल्ने क्रम समाप्त भएको छ । पार्टीका प्रमुख सचेतक भीम आचार्यले बैठकमा सभासद्हरूले आगामी जेठ १४ पछि उत्पन्न हुने संवैधानिक अनिश्चितता र राजनीतिक सहमतिको जरुरीका बारेमा आ-आफ्नो धारणा व्यक्त गर्नुभएको र भोलि पुनः बस्ने बैठकमा प्रधानमन्त्री, पार्टी अध्यक्ष र मन्त्रीहरूले आ-आफ्ना भनाइ प्रस्तुत गर्ने जानकारी दिनुभयो । बैठकमा गोविन्दराम चेपाङ, रामरति राम, नेत्र पन्थी, दुर्गा परियार, विषमलाल अधिकारी दनुवार, चिरञ्जीविराम थारु, शान्तिमाया तामाङ, शान्ता चौधरी, रत्न गुरुङ, राजकुमार राईलगायत १७ जना सभासद्ले बोल्नुभएको थियो ।सचेतक आचार्यले शान्तिप्रक्रिया र संविधानलेखनको प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यकता छ भनेर पार्टीले केही कुरा खुला गरेको उल्लेख गर्दै संसदीय दलको बैठकमा पनि त्यही विषयमा छलफल भएको बताउनुभयो ।संविधान लेखनको प्रक्रिया पूरा गर्ने र शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउने स्थिति नरहेको तथा राज्यको पुनःसंरचना जस्तो मुद्दा किनारा नलागिसकेको अवस्थाले जेठ १४ मा संविधान घोषणा हुने स्थिति छैन भन्दै सचेतक आचार्यले संविधानसभाको म्याद थपेर जानुको विकल्प छैन, समयावधि थप्ने काम सँगसँगै नयाँ परिस्थिति सिर्जना गरेर संविधानलेखन र शान्तिप्रक्रियालाई तीव्ररुपमा अघिबढाऔं भन्नेमा छलफल केन्दि्रत रहेको उल्लेख गर्नुभयो ।एक प्रश्नको जवाफमा उहाँले नेकपा (एमाले)ले संविधानसभाको म्याद कति थप्ने भन्ने बारेमा स्पष्ट भइसकेको छैन भन्दै राज्य पुनःसंरचना जस्तो अत्यन्त जटिल मुद्दासमेत समाधान गर्नेगरी संविधाननिर्माण गर्न कम्तिमा एक वर्षको समय चाहिने आफ्नो व्यक्तिगत धारणा रहेको बताउनुभयो ।एक अर्को प्रश्नको जवाफमा उहाँले वर्तमान सरकार विघटन गरी राष्ट्रिय एकताको सरकार गठन गर्न एकीकृत नेकपा -माओवादी)ले तयारी गरेको आन्दोलन धम्कीमात्र भएको र समस्या त्यसबाट समाधान हुँदैन भन्नुभयो ।

No comments: