News

Apr 18, 2010

माओवादी र फोरमले सरकार परिवर्तन गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
४ वैशाख,माओवादी र मधेसी जनअधिकार फोरमले आन्दोलनबाट वर्तमान सरकार परिवर्तन गर्ने चेतावनी दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा दुवै दलका नेताले शान्ति र संविधानका लागि आन्दोलनअघि नै बाटो खुला गर्न सरकारलाई आग्रहसमेत गरे ।माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति नबनेकाले अर्को आन्दोलन गर्नुको विकल्प नरहेको बताए । 'अब हाम्रो आन्दोलन निर्णायक हुनेछ । आन्दोलनको सुरुवात आगामी मजदुर दिवसबाट हुनेछ,' श्रेष्ठले भने । उनले अबको आन्दोलन सरकार विघटन तथा शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन केन्दि्रत रहने दाबी गरे ।
कार्यक्रममा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेले मिलेर जानी-जानी संविधान लेखन कार्य अवरुद्ध पारेको आरोप लगाए । मधेसीको माग पूरा नगर्ने वर्तमान सरकार आन्दोलनबाट परिवर्तन हुने बताउँदै अध्यक्ष यादवले भने, 'यो सरकारले मधेसीहरूको माग पूरा गर्न सक्दैन । हामीले मधेसी मोर्चा र सरकारबीच भएका सहमति कार्यान्वयन गराउन आन्दोलन गर्दै छौँ ।'
अहिलेको सरकारले संविधानसभाको म्याद थप्न नसक्ने पनि अध्यक्ष यादवले बताए । उनले भने, 'संविधानसभाको म्याद थप्ने अधिकार यो सरकारलाई छैन, यो सरकारले तत्काल विघटन हुनुपर्छ ।'

No comments: