News

Apr 30, 2010

पर्यटन स्याटलाइट लेखा प्रणाली लागू गर्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ वैशाख,पर्यटन मन्त्रालयले पर्यटन स्याटलाइट लेखा प्रणाली लागू गर्ने तयारी गरेको छ । कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान जानकारी पाउने उद्देश्यले सो प्रणाली लागू गर्न लागिएको हो ।
मन्त्रालयले पर्यटन स्याटलाइट लेखा प्रणाली कार्यान्वयनका लागि करिब ६ महिनाअघि नै प्रक्रिया थालेको हो । मन्त्रालयको तथ्यांक शाखाका प्रमुख उपसचिव रविप्रसाद कायस्थका अनुसार केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी त्यसलाई अघि बढाइएको छ । 'मन्त्रालय एक्लैले यो काम गर्न नसक्ने भएकाले राष्ट्र बैंक र तथ्यांक विभागसँग समन्वय गरिएको हो,' कायस्थले भने ।
पर्यटन स्याटलाइट लेखा प्रणाली लागू गर्ने सम्बन्धमा अध्ययन गर्न मन्त्रालयले गत महिना सहसचिवको संयोजकत्वमा केन्द्रीय तथ्यांक विभाग, राष्ट्र बैंक, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन विज्ञ रहेको एक समिति गठन गरेको थियो । समितिले तयार गरेको अवधारणाअनुसार प्रक्रिया अगाडि बढाइएको कायस्थले बताए ।
अवधारणाअनुसार प्रणाली लागू गर्न कुन-कुन क्षेत्रको तथ्यांक चाहिने हो, त्यसको सूची तयार गर्न विभाग, मन्त्रालय र बोर्डका प्रतिनिधि सम्मिलित प्राविधिक समिति गठन गरिएको छ । 'समितिले सूची तयार गरेपछि प्रक्रिया अगाडि बढ्छ,' कायस्थले भने । अगस्तसम्ममा प्रारम्भिक प्रतिवेदन तयार गर्ने योजना मन्त्रालयको छ ।

No comments: