News

Jun 23, 2010

११औँ राष्ट्रिय जनगणनाका वैशाखबाट सुरु हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ असार : आगामी वर्ष सञ्चालन हुने ११औँ राष्ट्रिय जनगणनाका लागि करिब दुई अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । जनगणना वैशाखबाट सुरु हुनेछ । केन्द्रीय तथ्यांक विभागले मंगलबार आयोजना गरेको 'एघारौँ राष्ट्रिय जनगणना ०६८ को विधि र तयारी' विषयक गोष्ठीमा विभागका निर्देशक डा. रुद्र सुवालले एक अर्ब ८० करोडदेखि दुई अर्बसम्म रकम लाग्ने बताएका हुन् । उनले भने जनगणनाका प्रारम्भिक कार्य सुरु भइसकेको जानकारी दिए । सुवालका अनुसार जनगणनामा प्रश्नपत्र तथा अन्य कार्यका लागि दुई सय मेटि्रक टन कागज प्रयोग हुनेछ । हालसम्म जनगणनाको तयारीका क्रममा नक्सा, प्रश्नावलीको मस्यौदा, विगतका तथ्यांक परीक्षणलगायत कार्य भइसकेका छन् ।नेपालमा एक सय वर्षदेखि हरेक १० वर्षको अन्तरमा जनगणना गरिँदै आएको छ । विभागले आगामी वर्षको जनगणनालाई नयाँ प्रविधिको प्रयोग गर्दै विश्वसनीय, वैज्ञानिक र त्रुटिरहित बनाउने दाबी गरेको छ । यसका लागि विभागले ४४ हजार गणकको व्यवस्था गर्ने भएको छ । साथै गणनामा आठ हजार पाँच सय सुपरभाइजर, सात सय ५० केन्द्रीय कर्मचारी र ८५ जना जनगणना अधिकृत खटाइनेछन् । एकजना गणकले औसतमा १ सय ७५ घरधुरीको गणना गर्नुपर्ने हुन्छ भने एकजना सुपरभाइजरले चारजना गणकलाई हेर्ने व्यवस्था गरिएको छ ।विभागले वैशाखअगाडि गणनाका प्राविधिक कार्य पूरा गर्ने र ३ देखि १३ असारसम्म हरेक घरपरिवारको व्यक्तिगत विवरण संकलन गर्ने कार्ययोजना बनाएको छ । आगामी जनगणनाबाट प्राप्त हुने सूचना तथा तथ्यांक गरिबी विश्लेषणका लागि उपयोगी होस् भनेर घरपरिवारको अवस्थिति, धारा, बत्ती, इन्धन र अन्य पारिवारिक सुविधाबारे सूचीकरण लागतमा संकलन गरिने बताइएको छ । व्यक्तिगत विवरणअन्तर्गत नाम, थर, जातजाति, भाषा, नागरिकता, साक्षरता र शैक्षिक विवरणका साथै अपांगताका बारेमा प्रश्नहरू सोधिनेछन् । यस्तै घरपरिवारमा अनुपस्थित सदस्यको विवरण, परिवारमा भएका मृत्यु, बसाइँसराइ, वैवाहिक स्थिति, जन्म र आर्थिक क्रियाकलापबारे पनि तथ्यांक संकलन गर्ने कार्ययोजना बनाइएको छ ।जनगणनाको तयारीका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री सर्वदेवप्रसाद ओझाले विगतका गणनामा भएका कमीकमजोरी हटाई नेपालमा बसोवास गरिरहेका सम्पूर्ण घरपरिवार र सदस्यहरूको गणना हुनुपर्ने र कोही छुट्न नहुने बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खड्गबहादुर बस्यालले नयाँ नेपालको खाका कोर्न, राज्यको संघीय स्वरूप निर्धारण गर्न आगामी जनगणना महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

No comments: