News

Jun 21, 2010

इरानले पृथकतावादी सुन्नी नेतालाई मृत्युदण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेहरान/ इरानले पृथकतावादी सुन्नी नेतालाई मृत्युदण्ड दिएको छ । आतंकवादी आन्दोलनमा लागेको आरोपमा अब्दुल मलिक रिगीलाई फासीको सजाय दिइएको हो । सरकारी समाचार एजेन्सीका अनुसार जुदुल्लाहका नेता अब्दुल मलिक रिगीलाई तेहरानस्थित जेलमा आइतबार फासी दिइएको हो । उनलाई फासी दिइँदा परिवारको उपस्थिति थियो । उनलाई सिस्तान-बलोचिस्तान प्रान्तमा भएको बम हमलाको जिम्मेवार ठहर्‍याइएको छ । रिगीलाई फेब्रुअरीमा दुबईबाट किर्गिस्तानको हवाई यात्राको क्रममा पक्राउ गरिएको थियो । २००३ मा गठन गरिएको जुदुल्लाह संगठन बलोच नागरिकको मानवअधिकार र संस्कृतिका लागि खोलिएको रिगीले दाबी गर्दै आएका थिए । इरान सरकारले जुदुल्लाह संगठनलाई अमेरिका, बि्रटेन र पाकिस्तानले सहयोग गरेको आरोप लगाउँदै आएको छ । तर, तिनै देशले यस आरोपको खण्डन गर्दै आएका छन् । इरानमा अधिकांश बलोच नागरिक सिस्तान-बलोचिस्तान इलाकामा बस्छन् । उनीहरू सुन्नी समुदायका हुन् । सिया बाहुल्य इरानमा सुन्नीविरुद्ध भेदभाव हुने गरेको आरोप सुन्नी समुदायले लगाउँदै आएको छ । सिस्तान-बलोचिस्तान अत्यन्त गरिबीको रेखामुनि छ । लागूऔषधको व्यापार, अपहरण र हिंसा यस इलाकाका प्रमुख समस्या रहेका छन् । जुदुल्लाहले सिस्तान-बलोचिस्तानमा भएका कैयौँ ठूला हमलाको जिम्मेवारी लिएको छ ।

No comments: