News

Jun 19, 2010

अभिनेत्री मनीषा कोइराला विवाह बन्धनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ५,बलिउड अभिनेत्री मनीषा कोइराला विवाह बन्धनमा बाँधिएकी छन्। शनिबार गोकर्ण गल्फ रिसोर्टमा सम्पन्न विवाह समारोहमा सम्राटले मनीषालाई नेपाली परम्परागत समारोहबीच पत्नी बनाएका छन्। बिहान ९ बजे हुने भनिएको विवाह समारोह ११ बजेदेखि बल्ल सुरू भयो। नेपाली ब्यान्ड बाजा र जन्ती लिएर करिब ११ बजे गोकर्ण रिसोर्ट पुगेका सम्राटलाई दुलही पक्षबाट विशिष्ट रूपमै स्वागत गरियो। उता दुलही पक्षको पन्चे बाजा पहिला नै बजिरहेको थियो। त्यसलगत्तै विवाहको जग्गेमा पुगेका सम्राटलाई प्रकाश कोइराला, सिद्धार्थ कोइराला लगायतले 'बरणी' गराएका थिए। त्यसको कार्यक्रम सकिएलगत्तै नेपाली बेहुलीको भेषमा सुसज्जित मनीषा कोइरालालाई मण्डपमा बसालेपछि बल्ल वैवाहिक कार्यक्रम सुरू भएको थियो। कार्यक्रम सुरू हुदाँ मनीषा निकै खुसी देखिएकी थिइन्। ४ घण्टा चलेको विवाह समारोहमा मनीषाका परिवार र मामाघरका सदस्यहरूमात्र उपस्थित थिए। त्यसबाहेक उनका बलिउडका घनिष्ठ साथीहरूको उपस्थिति रहेको थियो।
ज्याकी स्राफ, गुल्सन गोब्बर, दिप्ती नवल, सुमन रंगनाथ, आना सिंह र फिल्ममेकर बबीको उपस्थिति रहेको थियो। विवाह समारोह भएकाले सबै सेलिब्रेटीहरू फर्मल ड्रेसअपमा सजिएका थिए। मनीषाका परिवार, मामाघर र आफन्त पक्षले दुलाहाको गोडा धोएका थिए। कार्यक्रम चलिरहदाँ दुलही र दुलाहापक्ष बीच दोहोरी र नाचगान प्रतिस्पर्धा नै चलेको थियो। लामोबेर चलेको गोडा धुने कार्यक्रमको अन्तिममा भने मनीषा बेहोस भएकी थिइन्। त्यसपछि भने विवाह कार्यक्रम केही समयको लागि स्थगित गरेर मनीषालाई आराम गर्न लगाइयो। त्यसपछि 'कन्यादान' कार्यक्रम सुरू गरिएको थियो। मनीषाका पिता प्रकाश कोइरालाले कन्यादान गरे लगत्तै उनका मामाघर पक्षले उनलाई साथ दिएका थिए।
करिव ३ बजे मनीषालाई कोइराला परिवारले बिदाइ गरे। त्यस समय मनीषा र कोइराला पक्ष भावुक देखिए। मनीषाकी आमाले आँसु खसालिन्। बेहुली अन्माएर कोइराला निवास पुगेको मनीषाको माइती पक्ष, त्यही साँझ 'सम्धी भेट'को लागि महाराजगन्जस्थित सम्राट निवास पुगे। आइतबार हुने भोजको लागि बलिउड अभिनेत्री रानी मुखर्जी साँझ काठमाडौं आएकी छन्। आइतबार हुने दुलही पक्षको भोज सोल्टीमा चल्नेछ भने वर पक्षको भोज सोमबार एभरेष्ट होटलमा हुने भएको छ।

No comments: