News

Jun 28, 2010

विदेशी फिल्मले जिते तीनवटै उत्कृष्ट अवार्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चौथो नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवमा मेक्सिकन डकुमेन्ट्री एन्ड द रिभर्स फ्लोअनले गोल्डेन ड्रम जितेको छ । शुक्रबारदेखि आइतबारसम्म इन्डिजिनियस फिल्म अर्काइभले राजधानीमा आयोजना गरेको सो महोत्सवमा १४ वटा नेपाली आदिवासी फिल्म प्रदर्शन गरिए पनि उत्कृष्ट अवार्ड भने विदेशी फिल्मले जिते ।
महोत्सवमा नेपाल, भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, अमेरिका, अर्जेन्टिना, स्विडेन, नर्वे र क्याम्बोडिया गरी १२ देशका ३३ आदिवासी फिल्म प्रतिस्पर्धामा थिए । कार्लोस परेज रोराअ निर्देशित एन्ड द रिभर्स लोमा ठूला भौतिक परियोजनाले अदिवासी समुदायको मौलिक संस्कृति, ऐतिहासिक र जीवनशैलीलाई असर पार्ने भन्दै विरोध गरिएको छ । यस्तै भारतका आदिवासी र राज्यबीचको संघर्षमा आधारित नागा भाषामा रहेको डकुमेन्ट्री नागा :स्टोरी द अदर साइड अफ साइलेन्सले दोस्रो हुँदै सिल्भर ड्रम जित्यो । गोपाल मेननले निर्देशन गरेको सो डकुमेन्ट्रीमा भारतका आदिवासी र राज्यबीचको संघर्ष देखाइएको छ । यसैगरी जोसेफ पुलिनथनाथले निर्देशन गरेको फिक्सन फिल्म यारङले तृतीय अवार्ड ब्रोन्च ड्रम जित्यो । आदिवासी समुदायका एक जोडी प्रेमी-प्रेमिकाको प्रेमकथाबाट बाँधको निर्माणले बिथोलिएको एउटा आदिवासी गाउँको कथा प्रस्तुत गरिएको छ । ठूला नदीमा निर्माण गरिने उच्च बाँधले आदिवासी समुदायको सांस्कृतिक, भौतिक, शैक्षिक र आर्थिक क्षेत्रमा कसरी असर पर्छ भन्ने विषयवस्तु प्रस्तुत गरिएको छ । तीनैवटा अवार्ड विदेशी फिल्मले हात पारे पनि पुरस्कार वितरण कार्यक्रममा कुनै पनि देशका विजयी उपस्थित थिएनन् ।

No comments: