News

Jun 18, 2010

युनिटी सञ्चालकलाई अदालतले थुनामा पठायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ४- अवैध नेटवर्क व्यवसाय गरेको आरोपमा युनिटी लाइफ इन्टरनेसनलका पाँच सञ्चालकलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालत ललितपुरले शुक्रबार पेश भएका सातमध्ये पाँचलाई पुर्पक्षका लागि थुनामा पठाउने र दुईलाई ५०/५० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो। अदालतको आदेश अनुसार आईटी निर्देशक नेत्र राजवंशी, अर्थ निर्देशक भीम गुरुङ, महाप्रबन्धक शिशिर योगी, ग्रामीण विकास बैँकका प्रबन्ध निर्देशक रामदेव यादव र डिपार्टमेन्टल स्टोर निर्देशक इन्द्र विक पुर्पक्षका लागि कारागर चलान भएका छन्। युनिटीका दुई कर्मचारी लेखापाल भीमबहादुर खत्री र आईटी इञ्चार्ज सुदीप घिमिरेलाई भने ५०-५० हजार धरौटी तोकिएको छ। जेठ ४ गते गृह मन्त्रालयले युनिटीले बीमा, बैँकिङ लगायत पोलिसीहरु गैर कानुनी रुपमा सञ्चालन गरी ठगी गरेको भन्दै आठ जना सञ्चालकविरुद्ध पक्राउ आदेश जारी गरेपछि ललितपुर प्रहरी परिसरले जावलाखेलमा रहेको युनिटी मुख्यालयमा छापा मारी सञ्चालकहरुको खोजी गरेको थियो। प्रहरीले जेठ ३१ गते पक्राउ परेका सात जनाविरुद्ध बैँक तथा वित्तीय संस्था ऐन र मुलुकी ऐन ठगीको अभियोग लगाउँदै जिल्ला न्यायाधिवक्ताको कार्यालय ललितपुरमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। गृह मन्त्रालयले पक्राउ आदेश जारी गरेका युनिटी लाइफका अध्यक्ष प्रसाद भनिने काशिराम गुरुङ र प्रबन्ध निर्देशक विष्णु क्षेत्री, फिल्ड निर्देशक कृष्णबहादुर क्षेत्री, निर्देशक महेन्द्र केसी र विश्वनाथ गौतम भने पक्राउ परेका छैनन्।

No comments: