News

Jun 23, 2010

माओवादी र एमालेबीच छलफल प्रारम्भ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ असार : प्रधानमन्त्रीको राजीनामा र नयाँ सरकार निर्माणको विषयमा माओवादी र एमालेबीच छलफल प्रारम्भ भएको छ । छलफल सकारात्मक रूपमा अघि बढेको नेताहरूले बताएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच मंगलबार भएको छलफलमा नयाँ सरकारको नेतृत्वका विषयमा कुराकानी भएको थियो । भेटपछि खनाल तीनबुँदे सहमति कार्यान्वयनमा वार्ता सकारात्मक भएको भन्दै बाहिरिए । माओवादी नेताहरूले प्रधानमन्त्रीको राजीनामापछि मात्रै सत्ता साझेदारीबारे छलफल गर्ने आफ्नो अडानप्रति एमाले गम्भीर भएको प्रतिक्रिया दिएका छन् । 'सहमतिको सरकार निर्माण र संविधान लेखनलगायतका विषयमा दुई दलबीच महत्त्वपूर्ण छलफल भयो,' भेटपछि एमाले अध्यक्ष खनालले भने, 'यसले तीनबुँदे सहमति कार्यान्वयनमा सहजता ल्याएको छ ।' प्रचण्ड-खनाल भेटअघि मंगलबार नै खनालपक्षीय एमाले नेताहरूले प्रचण्डलाई भेटेका थिए । एमाले केन्द्रीय सदस्यहरू योगेश भट्टराई, घनश्याम भुसाल, विजयकुमार पौडेल र अरुण नेपालले माओवादी अध्यक्षसँग एक घन्टा लामो भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको राजीनामापछि सत्ता साझेदारीबारे छलफल अगाडि बढाउनुपर्ने माओवादीको अडानमा एमाले लचिलो भएको वार्तापछि माओवादी नेता पोष्टबहादुर बोगटीले बताए । 'यसले तीनबुँदे सहमति कार्यान्वयन हुने आशा पलाएको छ,' उनले भने । यसअघि सोमबार कांग्रेस-माओवादीबीच भएको वार्तामा दुवै पक्ष आ-आफ्नै अडानमा थिए । कांग्रेसले सहमति निर्माण भएपछि मात्र प्रधानमन्त्रीको राजीनामा आउने बताएको थियो भने माओवादीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्र अरू विषयमा छलफल अगाडि बढाउनुपर्नेमा जोड दिएको थियो ।

No comments: