News

Jun 23, 2010

प्रमुख तीन दलका नेताबीच अनौपचारिक छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ९- नयाँ संविधान निर्माणको कामलाई अघि बढाउने विषयमा प्रमुख तीन दलका नेताबीच अनौपचारिक छलफल भएको छ। बैठकमा करिब तीन महिनादेखि अवरुद्ध शीर्ष नेताको बैठक लगातार बस्ने र संविधान निर्माणका कामलाई निरन्तरता दिने सहमति भएको छ। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको लामो प्रयासपछि संविधानसभा भवन, नयाँ बानेश्वरमा बसेको बैठकमा तीनै दलका शीर्षनेताहरू- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल उपस्थित थिए। बैठकमा राज्य पुनःसंरचना आयोगको गठन पनि यसअघि छलफल गरी सहमतिनजिक पुगेको 'छ बुँदा' मा प्याकेजमै टुंग्याउने सहमति पनि भएको छ।
जेठ १४ गते संविधानसभाको म्याद १ वर्ष बढाइएपछि संविधान निर्माणको विषयवस्तुबारे शीर्ष नेतृत्व तहमा छलफल भएको पहिलो पटक हो। माओवादी मुख्य सचेतक पोष्टबहादुर बोगटीका अनुसार, अर्को बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने र बैठकलाई निरन्तरता दिने सहमति भएको छ। गत चैत १४ गतेदेखि संविधानका विषयवस्तुबारे बैठक बस्न सकेको थिएन। संविधानका विषयवस्तुबारे भएका मतभेद कम गर्न गत मंसीर ११ गतेदेखि सभाध्यक्ष नेम्वाङले शीर्षनेताहरूसँग अनौपचारिक छलफल सुरु गरेका थिए।

No comments: