News

Jun 25, 2010

अष्ट्रेलियामा पहिलोपटक महिला प्रधानमन्त्री जुलिया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यान्बेरा/ अष्ट्रेलियामा पहिलोपटक महिला प्रधानमन्त्री भएकी छिन् । उपप्रधानमन्त्री रहेकी जुलिया गिलार्ड अष्ट्रेलियाको इतिहासमा प्रधानमन्त्री हुने पहिलो महिला भएकी छिन् । एकताका अत्यधिक लोकप्रिय रहेका प्रधानमन्त्री केभिन रुडको लोकप्रियता केही समययता खस्किएको छ । घट्दो लोकप्रियता, जनसमर्थन गुमेपछि र आफ्नो पार्टीभित्रकै सांसदहरू विपक्षमा उभिएपछि रुड पद त्याग गर्न बाध्य भएका हुन् । यस वर्षको सुरुतिर गरिएको सर्वेक्षणअनुसार, पछिल्लो ३० वर्ष प्रधानमन्त्री हुनेमध्ये केभिन रुड सबैभन्दा लोकप्रिय प्रधानमन्त्री थिए । तर, केही महिनाभित्रै उनको लोकप्रियता घट्दै गयो । क्यान्वेरामा भएको पार्टी बैठकमा रुडले जुलिया गिलार्डविरुद्ध शक्ति प्रदर्शनमा भाग लिएनन् । उनले सत्तारुढ लेबर पार्टीको अध्यक्षता छाडिदिए । त्यसपछि जुलिया पार्टीभित्रबाट निर्विरोध निर्वाचित बनेकी हुन् । उनले बिहीबार देशको २७औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेकी छिन् । जुलियाले पूर्वप्रधानमन्त्री रुड नेतृत्वको सरकारले विश्वास गुमाएको बताउँदै आफूले अस्ट्रेलियामा खस्कँदै गएको खनिज उद्योग र अन्य व्यवसायमा सुधार ल्याई मुलुकलाई समृद्ध पार्ने प्रतिज्ञा गरेकी छिन् । ४८ वर्षीया अविवाहित जुलियाले आफ्नो पार्टीभित्रको उच्च पदमा पुग्न धेरै वर्षसम्म संघर्ष गर्नुपरेको थियो । उनले केही महिनामै मुलुकमा आमनिर्वाचन गरिने पनि बताएकी छिन् ।

No comments: