News

Jun 30, 2010

प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा स्वीकृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेह्र महिना लामो सत्ता सञ्चालनपछि प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको पक्षमा बहुमत हुँदा हुँदै राजीनामा दिएका छन्।राष्ट्रपति डा.रामवरण यादवले उनको राजिनामा स्वीकृत गरेका छन्।बालुवाटारस्थित आफ्नो सरकारी निवासबाट प्रधानमन्त्रीले राजिनामा दिने घोषणा गर्दा मन्त्रिपरिषदका सदस्यहरु पनि साथै थिए।देशवासीको नाउँमा सम्बोधन गरेपछि उनले राष्ट्रपतिलाई राजिनामा पत्र बुझाएका थिए।सरकार बनेदेखि नै माओवादीको चरम विरोध व्यहोर्न बाध्य प्रधानमन्त्री नेपाल केही दिनयता राजिनामा दिने मनस्थितिमा पुगेको चर्चा निरन्तर चलिरहेको थियो।त्यसलाई उनले बुधवार साँझ सत्य सावित गरे।शान्ति प्रकृया र संविधान लेखनले पुर्णता पाओस् भनेर राजनीतिक निकास र सहमतिको बाटो खुला गर्न राजिनामा दिएको प्रधानमन्त्रीले बताएका छन्।प्रधानमन्त्री नेपालले भने, “देशलाई अनिर्णय र अनिश्चयमा राखिरहनु उचित नहुने हुँदा सरकारको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्रीको पदबाट राजीनामा दिने निर्णय गरेको छु।”प्रधानमन्त्रीको वक्तव्य माओवादीप्रति चरम असन्तुष्टीले भरिभराउ थियो।
आफूले सत्तात्यागे लगत्तैदेखि आन्दोलनमा उत्रिएको माओवादीले वर्तमान सरकारको विघटनलाई एकसुत्रीय मुद्दा बनाएको थियो।उसले कठपुतलीको संज्ञा दिँदै नेपाल नेतृत्वको सरकारलाई शान्ति प्रकृया र संविधान लेखनको तगारो ठान्ने गर्दथ्यो।राजिनामा दिएर जानै लाग्दा प्रधानमन्त्री नेपालले त्यसको चुनौतिपूर्ण जवाफ दिँदै भने, “मेरो राजीनामापछि शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्ब पूरा गरिनेछन् भनी सार्वजनिक उदघोष गर्ने माओवादीले आफ्नो बचन पूरा गर्ने आशा गरेको छु।”आफ्नो कार्यकालमा प्रधानमन्त्री नेपालले सत्ता गठबन्धनभित्रबाट एकमुख समर्थन पाइरहेका थिए।तर आफ्नै पार्टी नेकपा एमालेभित्रबाट सार्वजनिक रुपमा र पार्टीभित्र अनेक पटक विरोध र आलोचना खेप्नु पर्‍यो।उनले त्यसप्रति पनि सांकेतिक असन्तुष्टी व्यक्त गर्दै भने, “प्रहारहरु प्रतिपक्षको कक्षबाट मात्र भएनन्, अनपेक्षित दिशा र स्थानबाट समेत भए। आरम्भदेखि नै सरकारलाई असफल पार्ने अभियान नै चलाइयो।”प्रधानमन्त्री नेपालको राजिनामापछि नयाँ सरकार गठनको बाटो उघ्रिएको छ।तर दलहरुले खाँचो दर्शाउने गरे झैँ राष्ट्रिय सहमतिको सरकार र त्यसको नेतृत्वबारे अन्यौल नै छ।

No comments: