News

Jun 24, 2010

२३ सभासद् बिहीबार अमेरिका उड्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ असार नेपालभित्र चरम असन्तुष्टि भए पनि अमेरिका भ्रमणका लागि राजनीतिक दलबीच सहमति भएको छ । देशभित्र दलीय सहमति नभए पनि विदेश जाने विषयमा सहमति भएपछि २३ सभासद् बिहीबार अमेरिका उड्दै छन् । दुई गैरसरकारी संस्थाले नेपाली सभासद्लाई संविधान निर्माणलगायतका विषयमा प्रशिक्षण दिन अमेरिका लग्दै छन् । 'बोस्टर्न नेगोसिएसन एन्ड स्टेट बिल्डिङ प्रोगाम फर नेपाली पोलिटिकल लिडर' विषयक कार्यक्रममा माओवादी, एमाले, कांग्रेस, फोरम, तमलोपा र सद्भावनालगायत पार्टीका सभासद् अमेरिका जान लागेका हुन् । बिहीबार अमेरिका उड्ने सभासद्ले १० दिन त्यहाँ बिताउनेछन् । कार्यक्रममा माओवादीका चार, कांग्रेस र एमालेका तीन/तीनजना नेतासहित २३ जना सहभागी हुनेछन् ।प्रमुख राजनीतिक दलका नेताहरू संविधान निर्माणसम्बन्धी सो कार्यक्रममा जाँदै छन् । उनीहरूको भिसादेखि टिकटसम्म निश्चित भएको छ । गल्फ एयरको जिएफ २६१ को उडानबाट उनीहरू बिहीबार साँझ सात बजे अमेरिकातर्फ उड्दै छन् । अमेरिकास्थित करुना सेन्टर फर पिस बिल्डिङ र नेपाली संस्था द्वन्द्व व्यवस्थापन शान्ति तथा विकास प्रतिष्ठान (आइसिपिडी) ले यस्तो भ्रमण गराउन लागेका हुन् । भ्रमणलाई अमेरिकी सरकारको स्टेट डिपार्टमेन्ट (विदेश विभाग) ले पनि सहयोग पुर्‍याएको छ । आइसिपिडी नेपाली गैरसरकारी संस्था हो । यो सन् २००२ मा स्थापना भएको हो । त्यस्तै करुना सेन्टरले शान्ति निर्माणका लागि आफ्नो संस्था सन् १९९४ मा स्थापना भएको जनाएको छ । द्वन्द्व प्रभावित राष्ट्रहरूमा शान्ति निर्माणका पक्षमा काम गर्दै आएको संस्थाले जनाएको छ ।

No comments: