News

Jun 29, 2010

डुब्न लाग्यो सेनाको जहाज किन्न पठाइएको ४० करोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ असार,तत्कालीन शाही नेपाली सेनाका लागि दुईवटा हवाईजहाज ल्याउन चिनियाँ कम्पनीलाई पाँच वर्षअघि सरकारले दिएको ४० करोड रुपैयाँ डुब्न लागेको छ । बैना रकम पठाएको पाँच वर्षसम्म सरकारले कहिले जहाज किन्ने त कहिले हेलिकोप्टर किन्ने भन्दै निर्णय फेर्दै आएको छ । माओवादी जनयुद्ध जारी रहेको र राजाले शासन हातमा लिएको वेला सेनाका लागि एक अर्ब १६ करोड ३२ लाख रुपैयाँ तिरेर सुविधासम्पन्न दुईवटा जहाज किन्ने निर्णय भएको थियो । चाइना एभिएसन टेक्नोलोजी इम्पोर्ट एक्सपोर्ट कर्पोरेसन (सिएटिआइसी) ले निर्माण गरेका जहाज किन्न चिनियाँ राजदूत र अर्थ सचिवबीच ६ माघ ०६२ मा सम्झौता भएको थियो । त्यही दिन नेपाल सरकारले कुल मूल्यको २० प्रतिशत अर्थात् ५५ लाख १० हजार ६ सय ८८ अमेरिकी डलर (४० करोड २८ लाख ३१ हजार रुपैयाँ) सिएटिआइसीलाई बुझाएको थियो । बाँकी रकम पाँच किस्तामा तिर्ने सम्झौता भएको थियो । तर, पैसा बुझाएपछि सरकारले पटक-पटक फरक-फरक निर्णय गर्दै आएको छ । शाही सरकार ढलेर प्रतिनिधिसभा पुनस्र्थापना भएपछि सरकारले श्वेतपत्र जारी गर्दै तत्कालीन शाही नेपाली सेनाका लागि किन्ने भनिएका जहाज नकिन्ने घोषणा गरेको थियो ।

No comments: