News

Dec 22, 2010

टोंगाटापुमा इतिहासमै पहिलोपटक जनताले प्रधानमन्त्री चुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोंगाटापु/ एक लाख मात्र जनसंख्या रहेको दक्षिणी प्रशान्त महासागरीय टापु राष्ट्र टोंगाटापुमा इतिहासमै पहिलोपटक जनताले प्रधानमन्त्री चुनेका छन् । महिना दिनअघि भएको चुनावमा अकालिसी पोहिभाले नेतृत्व गरेको प्रजातन्त्रवादी पार्टीले संसद्मा सबैभन्दा बढी स्थान जितेको छ । जम्मा १७ वटा निर्वाचन क्षेत्र रहेको संसद्मा १२ स्थान प्राप्त गरी सो पार्टी विजयी भएको हो । बाँकी नौ क्षेत्रका जग्गा मालिक मानिने भद्रजन अर्थात् 'नोबल'हरूका लागि छुट्टयाइएको छ ।
१२ मत पाएका पार्टी नेता पोहिभालाई १४ मतले हराउँदै लर्ड तुइभाकानो प्रधानमन्त्री भएका छन् । उनले पाँच स्वतन्त्र राजनीतिज्ञहरूको मत लिएका थिए । चार वर्षअघि एकदमै ढिलो गतिमा भएको राजनीतिक सुधारविरुद्ध राजधानी नुकुआलोफामा दंगा भएको थियो । गत नोभेम्बरमा भएको निर्वाचनले एक सय ६५ वर्ष पुरानो राजतन्त्र संकटमा पारेको छ । यसअघि राजाले नै राजनीतिकर्मी, पूरै मन्त्रिपरिषद् र प्रधानमन्त्री छान्ने गर्थे । टोंगाटापुको संसद्मा १२ स्थान डेमोक्रेटिक पार्टीका, नौ स्थान नोबल भनिने जमिनदारका र ५ स्थान स्वतन्त्र रहेका छन् । लर्ड तुइभाकानोको विजयले परम्परावादीको जित भएको मानिएको छ । यसअघि उनी शिक्षामन्त्री रहेका थिए । विश्व बैंकका अनुसार एक लाख जनसंख्या भएको यति सानो मुलुकमा ४० प्रतिशत गरिबीमा जीवन बिताइरहेका छन् ।
टोंगा एक सय ७० भन्दा बढी टापु राष्ट्र हो । न्युजिल्यान्डको उत्तर तथा फिजीको पूर्व प्रशान्त महासागरमा पर्ने यो मुलुकमा कुनै खनिज सम्पदा छैन । कृषि, माछा र बाहिर मुलुकमा काम गर्ने नागरिकले पठाएको पैसा नै यहाँका जनताका जीविकाका मुख्य साधन हुन् । यहाँका वर्तमान राजाको राज्याभिषेक दुई वर्षअघि मात्र भएको थियो र पोलिनेसियन राजतन्त्रको अन्तिम अवशेष अब यहाँ मात्र बाँकी छ ।
औपचारिक रूपमा कहिल्यै उपनिवेश नबने तापनि अति अनुदारवादी क्रिस्चियन मुलुक टोंगा पहिले बेलायती संरक्षणमा थियो र सन् १९७० मा पूरै स्वतन्त्र भएको थियो । यहाँ बेरोजगारी दर एकदमै उच्च छ । आप्रवासनले नछोएको यो मुलुक रोगका कारण पत्ता लगाउन आनुवंशिक अनुसन्धानका लागि उपयुक्त मानिन्छ । परम्परावादी टोंगाली समाजका लागि पश्चिम गएर शिक्षा पाएका युवाले प्रजातन्त्रको सन्देश दिन थालेपछि टोंगामा पनि राजनीतिक उथलपुथल हुन थालेको छ । राज्यको सबै शक्ति आफ्नो पोल्टामा राखेका राजा पनि प्रजातान्त्रिक सुभारका लागि बाध्य हुन थालेका छन् । राजनीतिक सुधारको माग गर्दै २००५ मा भएको आमहडताल र प्रदर्शनमा आठको ज्यान गएको थियो ।

No comments: