News

Dec 22, 2010

श्रीलङ्काली विदेशमन्त्रीको दाबीप्रति श्रीलङ्काले माफी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस ७ - राष्ट्रपति रामवरण यादवले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न श्रीलङ्काली राष्ट्रपतिलाई आग्रह गरेको विदेशमन्त्रीको दाबीप्रति श्रीलङ्काले माफी मागेको छ । नेपाल भ्रमणमा आएका विदेश मन्त्रालयका उपमन्त्री निओमल परेराले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर विदेशमन्त्री जिएल पेइरिसको दाबीप्रति माफी मागेको श्रीलङ्का गार्जियनले जनाएको छ । 'यसमा 'मिस अन्डर्स्ट्याण्डीङ' भयो, कृपया माफ गर्नुहोला,' उपविदेश मन्त्री परेराले प्रधानमन्त्री नेपाललाई भनेका थिए । परेरा यसैसाता नेपाल भ्रमण गरी फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले पुष्टि गरे । उपविदेश मन्त्री परेराले यससम्बन्धि खबर मिडियामा सार्वजनिक नगर्न पनि अनुरोध गरेको श्रीलङ्का गार्जियनको अनलाइन संस्करणमा उल्लेख छ । भेटमा प्रधानमन्त्री नेपालले दुई देशबीचको राजनीतिक सम्बन्ध चर्चा गर्दै भविष्यमा यस्ता गल्तिप्रति सावधान रहन आग्रह गरेको समाचारमा लेखिएको छ । साङ्घाई एक्स्पो समापनमा चीन गएका बेला राष्ट्रपति यादवले श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्षेसँग भेट गरी नेपालको शान्ति प्रक्रियामा मध्यस्थता गरिदिन आग्रह गरेको समाचार सार्वजनिक भएको थियो । त्यस्तो दाबी गर्ने श्रीलङ्काली विदेश मन्त्री विदेशमन्त्री जिएल पेइरिसले आफ्नो भनाइ झुटो नभएको दाबी गरेका थिए ।

No comments: