News

Dec 19, 2010

डीएसपीबाट रूपकुमार इन्स्पेक्टरमा घटुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस ४ - नेपाल प्रहरीका डीएसपी रूपकुमार न्यौपानेलाई गृह मन्त्रालयले एक तह घटुवा गरी इन्स्पेक्टरमा झारेको छ । सुरक्षा निकायमा कार्यरत कुनै पनि अधिकृत दर्जालाई गम्भीर अपराध नगरी घटुवा गरिँदैन । न्यौपानेका विरुद्ध प्रमाण भेटिएपछि ती नष्ट गरिन सक्ने सम्भावनालाई ध्यानमा राखी उनलाई अनुसन्धान सुरुलगत्तै निलम्बन गरिएको थियो । अहिले एक तह घटुवा गरिएपछि उनको निलम्बन फुकुवा गरिएको छ । सुरक्षा निकायमा सामान्य गल्ती गर्ने अधिकांश सुरक्षाकर्मीलाई ग्रेड रोक्का, बढुवा रोक्काजस्तो विभागीय कारबाही मात्रै गरिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत रहँदा न्यौपानेले सशस्त्र समूहसँग सम्पर्क र गहिरो उठबस रहेका सन्जीव झालाई संरक्षण दिँदै सहयोग गरेको प्रमाणित भएपछि गृहले घटुवा गरेको हो ।
सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या प्रकरणमा अनुसन्धान गर्दा न्यौपाने र झाबीचको सम्बन्ध हत्या प्रकरणमा जोडिएपछि प्रहरी मुख्यालयले उनीविरुद्ध अनुसन्धान थालेको थियो । स्रोतका अनुसार अनुसन्धानले ठहर गरेअनुसार नै प्रहरी मुख्यालयले गृहलाई सिफारिस गरेपछि न्यौपानेलाई घटुवा गर्ने निष्कर्षमा मन्त्रालय पुगेको थियो । लामो समय धनुषा र आसपासको जिल्लामा सरुवा हुँदै बसेका डीएसपी न्यौपानेले पदको दुरुपयोग गरी चोरीका गाडी सशस्त्र समूहसँग सम्पर्क रहेका झालगायतलाई
दिएको पनि अनुसन्धानबाट खुल्न आएको छ । न्यौपानेले तत्कालीन धनुषा जिल्लाका प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनाललाई चुनौती दिँदै सशस्त्र समूहलाई सहयोग गरेको खुल्न आएपछि खनालकै सिफारिसमा प्रहरी मुख्यालयले न्यौपानेविरुद्ध अनुसन्धान थालेको थियो । विवादास्पद झालाई तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले हालै युवा फाँटको नगरप्रमुख नियुक्त गरेका छन् ।

No comments: