News

Dec 21, 2010

बेलारुसका राष्ट्रपति लुकासेन्को चुनावमा फेरि विजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मिन्स्क/ बेलारुसका राष्ट्रपति अलेक्सान्द्र लुकासेन्को राष्ट्रपति चुनावमा फेरि विजयी भएका छन् । आइतबार केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक परिणाम घोषणा गर्दै उक्त कुरा बताएको हो । केन्द्रीय निर्वाचन आयोगकी प्रमुख लिदिया येर्मोसिनाले सञ्चारकर्मीसँग कुरा गर्दै लुकासेन्कोले 'बन्द क्षेत्र'का ९० प्रतिशत मतदाताको मत हासिल गरी अपार सफलता पाएको दाबी गरेको बताइन् । बन्द क्षेत्र भन्नाले अस्पताल, नर्सिङ होम र सैनिक इकाइ रहेका ठाउँमा राखिएका मतदानकेन्द्र पर्छन् । येर्मोसिनाले गनिसकिएका मतको ८९ दशमलव १ प्रतिशत मत राष्ट्रपति लुकासेन्कोले बटुलेको बताउँदै बन्द क्षेत्रका मतदानकेन्द्रमा करिब ७० हजारले मत खसालेको जानकारी दिइन् । मतदानका सर्वेक्षणकर्ता संस्थाले लुकासेन्कोले जितेको निश्चित गरेका छन् । इकुम नामक एक विश्लेषण केन्द्रले लुकासेन्कोले ७९ दशमलव १ प्रतिशत मत बटुलेको बताएको छ । टिएनएस्-उक्रेन नामक अर्को कम्पनीले उनको भागमा ७४ दशमलव २ प्रतिशत मत परेको जनाएको छ । अर्कोतिर हजारौँ हजार बेलारुसी नागरिक राजधानी मिन्स्कको मुटु मानिने अक्टोबर स्क्वायरमा भेला भएर धाँधलीयुक्त निर्वाचनको विरोध गरिरहेका छन् ।
विपक्षी उम्मेदवारले आइतबार राति मतदान सकिएपछि आपना समर्थकलाई नयाँ निर्वाचनको माग गर्न लगाउन एक संयुक्त शान्ति र्‍यालीको आयोजना गर्ने बताएका थिए । तर, सरकारी अधिकारीहरूले पूर्व अनुमति नलिई कुनै पनि र्‍याली गर्नु गैरकानुनी हुने बताएका थिए । अक्टोबर स्क्वायर जाने बाटोमा दुई उम्मेदवार पिटिएको समाचार आएको छ ।
रुस र पश्चिमा मुलुकका बीचको बफर स्टेटका रूपमा सामरिक महत्त्वको पूर्व सोभियत मुलुक बेलारुसमा यस निर्वाचनले अनिश्चितताको संकेत देखाएको छ । पश्चिमाहरू लुकासेन्कोका आलोचक रहिआएका छन् । सञ्चारमाध्यमले लुकासेन्कोविरुद्ध मैदानमा खडा भएका तीन उम्मेदवारलाई गिरफ्तार गरिएको र प्रमुख विपक्षी नेता ब्लादिमिर नेक्ल्यायेभलाई सादा पोसाक लगाएका व्यक्तिले अस्पतालबाट जबर्जस्ती बाहिर निकाली लगेको बताएका छन् ।
आइतबार भएको निर्वाचन १९९१ मा बेलारुस स्वतन्त्र भए यताको चौथो राष्ट्रपति निर्वाचन हो, जसमा उनैले जितिआएका छन् । धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकले स्थानीय समयअनुसार राति आठ बजे मतदान बन्द गरेकोमा सकारात्मक टिप्पणी गरेका छन् ।

No comments: