News

Dec 12, 2010

बोक्सीको आरोपमा उठिबास माइतमा बस्न बाध्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महोत्तरी, २५ मंसिर,बोक्सीको आरोप लगाउँदै गाउँलेले प्रताडना दिन थालेपछि महोत्तरी रौजा-७ की सकिना खातुन आफ्नै घरबार छाडी माइतमा बस्न बाध्य भएकी छिन् । रौजाका-७ घर भएका मोहिद कवारीको ४५ वषर्ीया श्रीमती सकिनालाई उनकै छिमेकीले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेपछि उनले स-परिवार घर छाडेकी हुन् । धमौरा-१ स्थित माइतीमा आश्रय लिइरहेकी कवारीले भनिन्, 'मैले आफ्नै घरमा बस्न, खान र राति सुत्न पाइनँ । मलाई गाउँ प्रवेशमा समेत बन्देज लगाइएको छ ।' बजारमा सामान किनमेल गर्नसमेत नदिइएको र त्यसो गरेको पाइएमा घरमै थुनेर बालबच्चा र श्रीमान्सहित आगो लगाई मार्ने धम्की दिएको उनले बताइन् । सो घटनालाई लिएर पीडित सकिनाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी छिन् । जाहेरीमा रौजा-७ का रउफ शेष, अतावुल सेख, सैमुन खातुन, अतफिुल सेख, हबिब नदाफ, आलम कवारी, ओजिमा खातुन, सरिफुल सेख र हुसेद सेखलगायतलाई किटिएको छ । जाहेरीअनुसार गत १० मंसिरको साँझपख घर घेराउ समूह बनाएर आएका पीडकले उनलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्दै घरबाट निकालेका थिए । घर प्रवेशमा रोक लगाएपछि उनले ज्यान जोगाउन माइतीमा बास लिएकी हुन् ।
यसअघि पनि पीडकले बोक्सीको आरोप लगाई पटक-पटक कुटपिट तथा गालीगलौज गरेपछि सकिनाले इलाका प्रहरी कार्यालय लोहारपट्टीमा २०६५ मा जाहेरी दिएकी थिइन् । त्यसवेला विपक्षी पैसा र जातीय संगठनको आडमा प्रहरीबाट उम्केको उनी बताउँछिन् । सोही मुद्दाको रिसइबीकै कारण पीडकले आफ्नो परिवारको हत्या गर्ने योजना बनाएको उनको भनाइ छ । पीडकले चरित्रहत्या गर्ने मनसायले धामी-झाँक्रीबाट बोक्सीको बात लगाउने, दिसा खुवाउने र समाजमा नांगै घुमाउने योजना बनाइरहेको भन्दै सकिनाले आफूलाई न्याय दिलाउन सबैसित सहयोग आह्वान गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जाहेरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।
मानवअधिकार संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष मदन झाले बोक्सीको आरोप लगाउँदै घरनिकाला गर्नु जघन्य अपराध भएकाले पीडकलाई तत्काल कानुनी कारबाही गरिनुपर्ने माग गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन र विस्थापित परिवारलाई स्थापित गराउनुपर्ने मागसमेत गरेका छन् ।

No comments: