News

Dec 30, 2010

नेपालमा दुई हजार ८४ पिएचडी डाक्टर पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ पुस,नेपालमा विद्यावारिधि (पिएचडी) उपाधि लिएर विद्याभूषण पदक पाउनेको संख्या करिब दुई हजार एक सय पुगेको छ । विदेशबाट पिएचडी गरेका व्यक्तिको भने यकिन तथ्यांक छैन । शिक्षा मन्त्रालयको 'रेकर्ड'मा ०१७ देखि ०६७ सालसम्ममा स्वदेश तथा विदेशका विश्वविद्यालयबाट पिएचडी गरेर विद्याभूषण पदक लिनेको संख्या दुई हजार ८४ पुगेको छ । माओवादी नेता डा. बाबुराम भट्टराईलगायत केही चर्चित व्यक्तिले विदेशबाट पिएचडी गरेका छन् । विदेशका विश्वविद्यालयबाट अहिले पनि ७० प्रतिशत नेपालीले पिएचडी गरेको पाइएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले नेपालबाट विद्याभूषण पदक लिएको यकिन तथ्यांक भने छैन ।
पिएचडी गरेर पहिलोपटक विद्याभूषण लिने नेपाली पुरुषोत्तमनारायण सुवाल हुन् । उनले ०१७ मा पिएचडी गरेर 'क' श्रेणीको महेन्द्र विद्याभूषण पदक लिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको 'रेकर्ड'मा उनले 'फर्माकोग्नोसिप' विषयमा पिएचडी गरेको उल्लेख छ । त्यति नै वेला त्रिभुवन विश्वविद्यालय स्थापना भए पनि पिएचडी कार्यक्रम भने सुरु भएको थिएन ।
त्रिभुवन विश्वविद्यालयले पिएचडी सुरु गरेको साढे तीन दशक भएको छ । तर, विदेशमा पिएचडी अध्ययन गर्नेको संख्या निकै बढेको छ । भारत, जापान, अमेरिकाका विश्वविद्यालयबाट पिएचडी गर्ने नेपालीको संख्या धेरै छ । ०६७ मा एक सय ५२ जनाले 'क' श्रेणीको विद्याभूषण पदक पाएकामा एक सय ६ जनाले विदेशी विश्वविद्यालयबाट पिएचडी गरेका छन् । ०६६ मा एक सय १७ जनाले विद्याभूषण पदक पाएकामा ७७ जनाले विदेशी विश्वविद्यालयबाट पिएचडी गरेका हुन् । पिएचडी गर्नेलाई 'क' श्रेणीको विद्याभूषण प्रदान गरिन्छ ।
पिएचडी गर्ने नेपालीले ०१७ देखि राज्यबाट विद्याभूषण पदक पाउन थालेका थिए । ०३१ देखि शिक्षा दिवसको अवसर पारेर 'महेन्द्र विद्याभूषण' पदक उपाधि दिन सुरु गरिएको थियो । तर, लोकतन्त्र स्थापनापछि 'नेपाल विद्याभूषण' नामले पदक दिन थालिएको छ ।
पिएचडी गरेको विषयको थेसिस र निवेदन शिक्षा मन्त्रालयमा दिएपछि उच्चस्तरीय छानबिन समितिले यकिन गरेर पदक दिने व्यवस्था गरिएको छ । पिएचडी गरेको धेरै वर्ष बिते पनि निवेदन दिएमा जुनसुकै वर्ष पनि पदक दिन सक्ने व्यवस्था शिक्षा मन्त्रालयले गरेको छ ।
नेपालका विश्वविद्यालयबाट पनि केही विदेशी नागरिकले पिएचडी गरेका छन् । शिक्षा मन्त्रालय उच्च तथा प्राविधिक शाखा प्रमुख लक्ष्मण खनालले नेपालका विश्वविद्यालयबाट पनि एकाध विदेशी नागरिकले पिएचडी गर्ने गरेको बताए । उनले भने, 'एक वर्षमा नेपाल विद्याभूषण पाउने विदेशी नागरिक एक-दुईजना हुन्छन् ।' ०६७ मा एकजना विदेशीले नेपाल विद्याभूषण पदक पाएका थिए ।
दस वर्षयता ०६७ मा सबैभन्दा धेरैले विद्याभूषण पदक पाएका छन् । ०६७ मा एक सय ५२, ०६६ मा एक सय १७, ०६५ मा एक सय दस, ०६४ मा ७३ जनाले पदक पाएका थिए । त्यस्तै, ०६३ मा भने कार्यक्रम नै भएन । ०६२ मा ८८, ०६१ मा एक सय २६, ०६० मा ९१, ०५९ मा ९४, ०५८ मा ५९, ०५७ मा ७४ जनाले विद्याभूषण पदक पाएका थिए । हाल नेपालका त्रिभुवन, नेपाल संस्कृत र काठमाडौं विश्वविद्यालयले पिएचडी कार्यक्रम सञ्चालन गरेका छन् । बौद्ध विश्वविद्यालयले समेत यस वर्षबाट पिएचडी कार्यक्रम सुरु गरेको छ ।

No comments: