News

Dec 15, 2010

रामचन्द्रको उम्मेदवारीबारे एमालेभित्र विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ दल नेकपा एमालेले बहुमतीय आधारमा भए पनि सरकार गठन गर्ने विषयमा छलफल शुरु गरेको छ। मंगलबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा नयाँ सरकार गठन र एमालेले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भइरहेको छ। राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भनी प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुभएको थियो। उहाँको राजीनामापछि पनि ६ महिनासम्म राष्ट्रिय सहमतिको सरकार बन्न नसकेपछि एमालेले विकल्प खोज्ने गरी छलफल प्रारम्भ गरेको छ। प्रधानमन्त्री नेपालले राजीनामा दिएमा २४ घण्टाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी माओवादीले गर्दै आएको थियो भने एमालेकै पार्टी अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने संभावना औंल्याउनुभएको थियो। राष्ट्रिय सहमतिको सरकार पनि बन्न नसक्ने र बहुमतको सरकार पनि नबन्ने स्थिति कायमै रहेकोले अब बहुमतमा भए पनि जाने कि भन्ने बारेमा पार्टीमा छलफल भएको छ।बैठकमा नयाँ सरकार गठन र कांग्रेसका प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलका सम्बन्धमा मतविभाजन भएको बताइएको छ। एमालेका केही केन्द्रीय सदस्य नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको उम्मेदवारी बहुमतले अस्वीकृत नगरेका कारण कायम रहने पक्षमा देखिएका छन् भने केही केन्द्रीय सदस्य संसद् अधिवेशन अन्त्य भएको अवस्थामा सो अधिवेशनमा आएका प्रस्तावको पनि अन्त्य भएकोले नयाँ ढंगले अगाडि जानुपर्ने पक्षमा देखिएका छन्।

No comments: