News

Dec 21, 2010

हङकङमा चासोक तङ्नाम भब्यताका साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/निर्मल श्रेष्ठ
पुस ५,सात समुद्रपारिको हङकङ सहर यतिबेला नजिकिदै गरेको क्रिसमसको उन्मादले छप्पकै छोपिएको छ । तर हङकङेली नेपालीहरुलाई भने क्रिसमसको रमझमले भन्दा लिम्बूहरुको महान पर्व चासोक तङ्नाम (न्वागी पूजा) ले आकषिर्त गर्‍यो । बाली भित्रयाइने बेला प्रकृति र पितृपूजा गरी भव्य रुपमा मनाइने उक्त पर्वका अवसरमा आइतबार मंकी हिल झकिझकाउ थियो । समारोहमा सयौं नेपालीहरु सहभागि थिए । स्वदेशमा कुनै जाति वा क्षेत्र विशेषमा मनाइने पर्व भएपनि यहाँ त्यसो भएन् । चासोकमा प्रस्तुत धान, केलाङ, यालाङ, हाक्पारे, साम्लो, च्याब्रुङ लगायत नृत्य हेरेर रमाउनेहरुमा गैरलिम्बूहरु पनि उत्तिकै थिए । दिउँसो देखि राती अबेरसम्म चलेको नाचगानमा के बालक, के युवा, के पाका सबै जुरुक जुरुक उचालिए । साँझको बेला चिसिदै गरेको वातावरणलाई समेत नाचगानले मजाले ततायो । स्वदेशमा मंगलबार मात्र मनाइने उक्त पर्व हङकङेलीहरुले भने विदाका दिन पारेर दुई दिनअघि नै मनाएका हुन् ।
रंगीविरंगी ध्वजाले सजाइएको कार्यक्रमस्थलमा बालकदेखि पाकासम्म उस्तै झकिझकाउ पहिरनमा भेला थिए । अधिकांश युवाहरु कालो जुहारी कोट सँग दौरा सुरवाल र नेपाली ढाका टोपीमा ठाँटिएका देखिए । युवतीहरु झन के कम । अधिकांश लिम्बू जातीको पहिरन कैंचीमारा फरिया, चौंबन्दी चोलो, पटुकी, तिनखोले बर्को सँगै मडारी, कण्ड, ढुँग्री, मुन्द्री, रेजी, काँडे चुरा, कल्ली लगायतका परम्परागत गरगहनाले ढाकिएका थिए । यिनले विशेष अवसरमा लगाउन पोशाक र गरगहना नेपालमै तयार पारी ल्याएको बताए । किरात याक्थुङ चुम्लुङ द्वारा चासोक पर्व विगत पन्ध्रबर्षदेखि नियमित मनाउदै आएको चुम्लुङका सचिव नन्द चङसु लिम्बूले जनाए । हङकङेलीहरु आनो कला संस्कृति भनेपछि भुत्तुकै हुने उनको अनुभव छ । 'परदेशमै बसेपनि हामीलाई आनो कला संस्कृतिप्रति असाध्यै मायामोह छ,' नेपाल घर ताप्लेजुङ बताउने लिम्बूले भने, 'गाउँठाउँभन्दा टाढा रहेपनि यसरी संगोलमा रमाइलो गर्न पाउदा निकै खुशी लाग्छ ।'
भीड्मा नेपाली परम्परा आना क्यामरामा कैंद गर्नेहरु समेत कम थिएनन । हङकङमा विरलै देखिने यस्ता नाचगान र नृत्यबारे कतिपय स्थानीयले उत्सुकतापूर्वक जिज्ञासा राखेका भेटिन्थे । समारोहमा उत्कृष्ट जातिय पहिरनका लागि आयोजकले पुरस्कारका व्यवस्था समेत गरेका थिए । पुरस्कार पुरुषतर्फ दिल बहादुर लिम्बू र महिलातर्फ नामलिङ ओखराबोले जितिन् । लिम्बू पुजारीबाट पूजाआजापछि सुरु भएको कार्यक्रम राती अबेरसम्म चलेको थियो । विदा हुनेबेला कतिपयले दुःखेसो पोख्दै गरेका सुनिए, 'नाच्ने रहर त कहाँ मेटिएको थियो र भोलि सबेरै काममा निस्कनु छ, अब अर्को सालको चासोकमा यस्तै रमाइलो गरौला है ।'

No comments: