News

Dec 19, 2010

प्रस्ताव पारित गराउन माओवादी निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले आफ्ना सभासद्लाई संसद्को विशेष अधिवेशनका लागि दर्ता गरिएका प्रस्ताव सफल बनाउन आफ्ना निर्देशन दिएको छ । व्यवस्थापिका-संसद्को विशेष अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बोलाइएको दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधानका लागि संविधानसभाको मोर्चामा पनि संघर्ष गर्न सभासद्लाई निर्देशन दिएका हुन् । संसद्को विशेष अधिवेशन आइतबारदेखि सुरु हुँदै छ । पार्टीको शुक्रबार सकिएको केन्द्रीय समितिको बैठक र पछिल्लो राजनीतिक अवस्थाबारे सभासद्लाई जानकारी गराउँदै माओवादी अध्यक्ष प्रचण्डले सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा पार्टीले दर्ता गराएको प्रस्ताव सफल पार्न आ-आफ्नो ढंगबाट लाग्नसमेत सभासद्लाई निर्देशन दिएका हुन् । 'शान्ति र संविधानका लागि संविधानसभाको मोर्चामा पनि संघर्ष गर्नुहोला,' प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी सचेतक जयपुरी घर्तीले भनिन्, 'शान्ति र संविधानका लागि सजग र सतर्क भएर आ-आफ्नो काममा लाग्नुहोला ।'
दलको बैठकले आफ्नै अगुवाइमा बोलाइएको संसद् अविधेशनमा आफ्ना प्रस्ताव पारित गराउन अन्य राजनीति दलसँग छलफल गर्ने निर्णयसमेत गरेको छ । अध्यक्ष प्रचण्डले पनि अहिलेसम्म संसद् अधिवेशनबाट आउने नतिजा यकिन नभएको उल्लेख गर्दै अन्य दलहरूसँग छलफल गर्ने बताएका थिए । उनले सत्तारुढ दलहरूले अपनाउने रणनीतिअनुसार आफूहरूले योजना बनाउने बताए ।
संसद्को अधिवेशनमा छलफलका लागि माओवादीले प्रधानमन्त्रीको चुनावको नयाँ प्रक्रिया सुरु गर्न र नियमावली संशोधनको प्रस्ताव शुक्रबार नै दर्ता गराएको थियो । दलको बैठकमा संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद् अधिवेशन बोलाउनुपर्ने कारणबारे र प्रमुख सचेतक पोष्टबहादुर बोगटीले समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले आइतबारको संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि आफ्ना सभासद्लाई हि्वप जारी गरेको छ ।

No comments: