News

Dec 25, 2010

भोलिबाट एमआरपी (पासपोर्ट)बितरण शुरु गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्र मन्त्रालयले आइतबार संवैधानिक अंगका प्रमुखहरूबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण सुरु गर्ने भएको छ। प्रमुखहरुलाई कुटनीतिक एमआरपी दिएपछि आइतबार थप सयजनालाई एमआरपी बाँडिने छ। परराष्ट्रस्थित केन्द्रीय राहदानी कार्यालयका पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
'पहिलो दिन एमआरपीका लागि सबभन्दा पहिला परराष्ट्रमा फारम बुझाउने सयजनालाई राहदानी दिइने छ,' परराष्ट्र स्रोतले भन्यो। आइतबार सुरुमा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई एमआरपी दिइनेछ। परराष्ट्रले पुस ४ गतेबाट एमआरपीका लागि निवेदन संकलन थालेको थियो। आइतबार परराष्ट्र र विदेशस्थित नियोगबाट एकसाथ एमआरपी जारी गरिने परराष्ट्रले जनाएको छ।
परराष्ट्रले एमआरपी वितरणलाई विकेन्द्रीकरण गर्ने सोच पनि अघि बढाएको छ। स्रोतअनुसार डेढ साताभित्र काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट एमआरपी वितरण सुरु गर्ने तयारी परराष्ट्रले गरिरहेको छ।
'तीन जिल्लाबाट निवेदन संकलन गरी परराष्ट्र ल्याइन्छ,' स्रोतले भन्यो, 'निवेदनका आधारमा सूचना राखी परराष्ट्रले पठाएको एमआरपी सम्बन्धित जिल्लाबाट जारी गरिन्छ।' स्रोतअनुसार कुन जिल्लाको निवेदन कुन जिल्लामा बुझाउन सकिने भन्ने निर्णय भइसकेको छैन। सुरुमा उपत्यकाका तीन जिल्लामा सफलतापूर्वक एमआरपी वितरण भएपछि अन्य जिल्लाबाट पनि जारी गरिने परराष्ट्रले जनाएको छ।

No comments: