News

Dec 14, 2010

आठौं मिस्टर हङकङ नेपाल उपाधि अमृत गुरुङले जिते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २८ - आठौं मिस्टर हङकङ नेपाल शारीरिक सुगठन प्रतियोगिताको उपाधि अमृत गुरुङले जितेका छन् । युङ लङ थिएटर हलमा आइतबार साँझ आयोजित प्रतिस्पर्धामा ३८ वर्षीय गुरुङले बेस्ट पोजिङसहित शीर्ष उपाधि जितेका हुन् । दुई वर्षअघि हङकङ आएका उनले २०५४ सालमा मिस्टर पोखरामा समेत फस्ट रनरअपको उपाधि जितेका थिए । परदेशमा भिडेको पहिलो सहभागितामै नचिताएको सफलता मिलेकामा उनले प्रसन्नता व्यक्त गरे । 'करिब तीन महिनादेखि कडा प्रशिक्षणमा थिएँ,' कान्तिपुरसँग उनले भने, 'तर अरू साथीको समेत निकै राम्रो तयारी रहेकाले शीर्ष उपाधि नै जितिएला भन्ने लागेको थिएन ।' स्याङ्जाका स्थायी बासिन्दा उनले शारीरिक सुगठनमा लाग्नुअघि भारोत्तोलन खेलाडी रहेको बताए । '२०५३ सालमा कास्कीमा आयोजित पश्चिमाञ्चलस्तरीय भारोत्तोलन प्रतियोगितामा मैले शीर्ष उपाधि जितेको थिएँ,' उनले खुसी हुँदै भने, 'धेरैपछि उस्तै अवसर जुर्‍यो, एउटा खेलाडीलाई उपाधि जित्नुभन्दा अर्को खुसी केमा नै होला र ?' भाग्य र निर्णायकले समेत रुचाएकाले आफूलाई सफलता मिलेको उनले बताए । शारीरिक सुगठनमा गरिने मिहिनेत, समय र खर्चका तुलनामा आर्थिक आर्जनको अवसर निकै कम रहेको गुनासो पोखे । उनले स्वस्थ शरीर, नाम र इज्जतकै लागि यस खेललाई निरन्तरता दिएको जनाए ।
प्रतियोगिताका शीर्ष उपाधि जितेबापत अमृतले दस हजार हङकङ डलरसहित विजेता ट्रफी हात पारे । बेस्ट पोजिङका लागि समेत उनले थप दुई हजार हङकङ डलर जिते । हङकङ नेपाल बडी बिल्डिङ एसोसिएसनद्वारा आयोजित प्रतियोगिता फ्री वेटका आधारमा गराइएको थियो । प्रतिस्पर्धामा काठमाडौं तीनकुनेका तमुर तामाङ फस्ट रनरअप र काठमाडौं गोंगबुकै विश्वबहादुर थापा सेकेन्ड रनरअप भए । प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमशः सात हजार पाँच सय र पाँच हजार हङकङ डलर जिते । प्रतियोगिताको सुरुआतदेखि नै तमुर मुख्य प्रतिद्वन्द्वीका रूपमा देखिएका भए पनि अन्ततः अमृतले बाजी मारे । प्रतियोगीहरूलाई धर्मश्री विजेता सानु गुरुङले प्रशिक्षण दिएका थिए ।

No comments: