News

Dec 14, 2010

एमाले बहुमतीय सरकारको गृहकार्यमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ मंसिर,एमालेले सहमतीय सरकार गठनको अडान परिवर्तन गरी बहुमतीय सरकारमा जाने गृहकार्य गरेको छ । सहमतीय सरकारको अडान कायमै राखे आगामी जेठसम्म पनि सरकार गठनकै विषयमा गतिरोध रहने भन्दै एमालेले अडान परिवर्तनको तयारी गरेको हो । 'सहमतीय सरकारका लागि पार्टीले लिएको अडान सही थियो, तर अझै सहमति हुने सम्भावना देखिएको छैन,' स्थायी समिति सदस्य भरतमोहन अधिकारीले भने, 'अब बहुमतीय भए पनि सरकार गठनलाई प्राथमिकता नदिए जेठसम्म सरकार गठनको मुद्दामै राजनीति घुमिरहने देखियो ।'
स्रोतका अनुसार, अध्यक्ष झलनाथ खनालले कांग्रेस नयाँ प्रक्रियामा गएर प्रधानमन्त्री चुन्न तयार भए उसको नेतृत्वमा बहुमतीय सरकार गठन गर्ने वचन कांग्रेसलाई दिएका छन् । स्थायी समिति सदस्य अधिकारीले पनि एमाले र कांग्रेसबीच बहुमतीय सरकार गठनका विषयमा कुरा अघि बढेको स्विकार्दै प्रक्रियाबारे सहमति हुन नसकेको बताए ।
'नेतृत्व कांग्रेसले नै गरोस् तर, प्रक्रियाका विषयमा स्पष्ट हुनुपर्छ,' नेता अधिकारीले भने, 'चालू प्रक्रियाबाटै रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने कांग्रेसको जोड रहेको छ, हामी नयाँ प्रक्रियामा जाऊँ भनिरहेका छौँ ।' स्रोतका अनुसार, अध्यक्ष खनाल दक्षिण अपिmका जानुअघि नै उनले नयाँ प्रक्रियामा गए कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार भए पनि बनाउन एमाले सहमत हुने आश्वासन कांग्रेस नेता पौडेललाई दिएका थिए ।
केन्द्रीय कमिटीको बैठकमा सहमतिको सरकार गठनमा जोड दिँदै अध्यक्ष खनालले तत्कालका लागि बहुमतीय सरकार बनाएर सहमतीय स्वरूप प्रदान गर्ने प्रस्ताव राख्ने तयारी गरेको उनीनिकट स्रोतले बतायो । मंगलबार एमाले केन्द्रीय कमिटीको बैठक बस्दै छ । सरकार गठनबारे नेताहरूबीच समान धारणा बनाउन सोमबार स्थायी समितिको बैठक बसेको थियो ।

No comments: