News

Dec 12, 2010

अमेरिकाद्वारा भारतीय कूटनीतिज्ञको बेइज्जती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिंगटन/ अमेरिकी अध्यागमन प्रशासनका सुरक्षा अधिकारीले भारतीय राजदूत श्रीमती मीराशंकरलाई विमानस्थलको सुरक्षा रेखाबाट तानी केरकार गरेकोमा अमेरिकी सरकारले क्षमा मागेको छ । विदेशमन्त्री हिलारी क्लिन्टनले यस कार्यलाई फेरि दोहोरिन नदिने भन्दै घटनाप्रति चासो देखाएकी छिन् । राजदूतको कूटनीतिक हैसियत थाहा पाउँदापाउँदै पनि गत साता उनलाई खोतलखातल गर्ने काम गरिएको थियो । केहीले उनलाई मात्रै एक्लै पारेर खोजतलास गरेको बताएका छन् । उनले सारी लगाएकी थिइन् र मिसिसिपी स्टेट युनिभर्सिटीमा आयोजित एक कार्यक्रममा भाग लिन बाल्टिमोरतर्फ जाँदै थिइन् । उनलाई डिसेम्बर ४ का दिन ज्याक्सन-इभर्स अन्तर्राष्ट्रिय विमानस्थलमा दुव्र्यवहार गरिएको थियो ।
यस घटनापछि वासिंगटनस्थित भारतीय राजदूतावासले कडा आपत्ति जनाएको थियो भने भारतीय विदेशमन्त्री एसएम कृष्णाले यस्तो व्यवहारलाई स्विकार्न नसकिने भनी प्रतिक्रिया दिएका थिए ।
अमेरिकी गृह सुरक्षामन्त्री जाने नापोलितानोले अधिकारीहरूले नियमानुसारै गरेको र त्यस्तो अवस्थामा यो उचितै भएको आफूले सोचेको बताइन् । तथापि, बेइज्जतीको अनुभव गरेका भारतीयलाई क्लिन्टनको भनाइले केही हदसम्म शान्त पार्ने प्रयास गर्‍यो ।
गत वर्ष अमेरिकाको कन्टिनेन्टल एअरलाइन्सले पूर्व भारतीय राष्ट्रपति एपिजे अब्दुल कलामलाई अमेरिका जान विमान चढ्न लाग्दा खोतलखातल गरेकोमा क्षमा माग्नुपरेको थियो । त्यतिवेला उनीहरूले कलामका जुत्ता उतार्न लगाएका थिए । त्यस घटनाले भारतीय सांसदहरू निकै चिढिएका थिए । प्रोटोकलअनुसार, पूर्वराष्ट्रपति र अन्य अति विशिष्ट महानुभावलाई खोजतलास गर्नु पर्दैन ।

No comments: