News

Dec 12, 2010

उमा सुवेदीको गज़ल संग्रह "तप्किएर अञ्जुलिमा" विमोचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यही डिसेम्बर ११ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा गीतकार तथा गजलकार उमा सुवेदीको प्रथम गजल सङ्ग्रह 'तप्किएर अन्जुलीमा' इजरायलको तेलभिवमा एक समारोहका विच विमोचन गरिएको छ । उपस्थित साहित्यकार तथा साहित्यप्रेमीहरूद्धारा सामुहिक राष्ट्रिय गानका साथै पानसमा दीप प्रज्वलन गरी उदघाटित सो कार्यक्रममा अ ने सा स इजरायल च्याप्टरका अध्यक्ष गीतकार सुनिल संगमद्वारा पुस्तक विमोचन गर्नु गरिएको थियो । विमोचनको उक्त कार्यक्रममा अ ने सा स इजरायल च्याप्टरकी सदस्य तथा कवि दीप्स साहले स्वागत मन्तव्य राख्नु भएको थियो ।
आफ्नो प्रथम कृति 'तप्किएर अन्जुलीमा' गजल सङ्ग्रहका बारेमा प्रकास पार्दै गजलकार उमा सुवेदी परदेशमा रहेपनि आफ्नो मन सधैँ नेपाल र नेपाली साहित्यमै अल्झिरहेको र सधैँ साहित्य क्षेत्रमै आफू समर्पित रहि रहने बताउनु भयो ।वहाँले पुस्तक प्रकाशनका सन्दर्भमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलार्इ धन्यवाद दिँदै 'तप्किएर अन्जुलीमा' गजल सङ्ग्रहमा सङ्ग्रहित गजलहरू पढिदिनु भएर स्वच्छ प्रतिकृया समेत दिनु हुन सम्पूर्ण पाठक वर्ग तथा गजल पारखीहरूसँग अनुरोध गर्नु भयो ।
कार्यक्रममा अन्य साहित्यक व्यक्तित्वहरू अनेसास इजरायलका सल्लाहकार नयन्द्र चेम्जुङ तथा सोमेन्द्र घिमिरे साथै अने सा स का केन्द्रिय सचिव हरि मानन्धरले गजल सङ्ग्रह तथा गजलकारका विषयमा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।यसैगरी अ ने सा स इजरायलका अर्का सदस्य यश जीले सङ्ग्रहमा सङ्ग्रहित गजलहरूको चर्चा गर्दै अनुप्रास युक्त लालित्य काव्यकलाकी शील्पकार उमा सुवेदी नेपाली साहित्य क्षेत्रकी निकै आशा लाग्दी नारी हस्ताक्षर भएको बताउनु भयो ।
कार्यक्रम समापनका क्रममा बोल्दै कार्यक्रमका सभापति सुनिल संगमले गजलकार उमा सुवेदीको प्रथम कृति विमोचन गर्न पाउँदा अनेसास इजरायल च्याप्टर गैारवान्वित भएको भन्दै वहाँको आगामी साहित्यक यात्राको लागि शुभकामना दिनु भयो । कार्यक्रम अनेसास इजरायल च्याप्टरका महासचिव कृष्णपक्षले सञ्चालन गर्नु भएको थियो ।

No comments: