News

Dec 31, 2010

सुजाताद्वारा चीनमा हिमालयन स्टडिज उदघाटन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, पुस १५ - चीन भ्रमणमा रहेकी उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले बुधबार इन्स्टिच्युट अफ हिमालयन स्टडिजको उद्घाटन गरेकी छन् । इन्स्टिच्युटले हिमाल तथा जलवायुसम्बन्धी असरका बारेमा अध्ययन गर्नेछ । साथै, केन्द्रले नेपाल र चीनबीचको मित्रतालाई बढावा दिन लोकसंस्कृति आदानप्रदान लगायतका कार्यहरूमा समेत सघाउ पुर्‍याउने बताइएको छ । छोङछिङस्थित साउथवेस्टर्न विश्वविद्यालयमा आयोजित उद्घाटन समारोहमा विश्वविद्यालयका अध्यक्ष फु झिताङ, गणतन्त्र पाकिस्तानका राजदूत मसुद खान, चीनको स्वशासित क्षेत्र तिब्बतका सूचना विभागका कार्यकारी निर्देशक हो युनहाओ लगायतको उपस्थिति थियो । चीनका प्राध्यापकहरूको पहलमा गठन भएको केन्द्रले नेपालको परराष्ट्र मामिला प्रतिष्ठान (आईफा) सँग मिलेर काम गर्नेछ । अध्ययन अनुसन्धानका क्रममा नेपाल र चीनका बुद्धिजीवीहरूका अनुभव आदानप्रदान हुने समेत जनाइएको छ । इन्स्टिच्युट सिन्ह्वा तथा साउथवेस्ट विश्वविद्यालयको संयुक्त पहलमा गठन भएको हो । सिन्ह्वा चीनको उत्कृष्ट तीन विश्वविद्यालयमध्येको हो भने साउथवेस्ट उक्त क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।
मन्त्री कोइरालाले उद्घाटनका क्रममा केन्द्रले दुई मुलुकबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै आर्थिक विकासका क्षेत्रमा समेत नयाँ अध्याय कोर्न सकोस् भनी शुभकामना व्यक्त गरेकी थिइन् । नेपाल र चीन छिमेकी मित्र भएको बताउँदै कोइरालाले नवगठित केन्द्रले आर्थिक लगायत दुईपक्षीय हितका विषयहरूमा आपसी समझदारी बढाउन मद्दत पुर्‍याउने विश्वास राखिन् । मन्त्री भएयता कोइरालाको यो तेस्रो चीन भ्रमण हो । गत वर्ष सेप्टेम्बरमा उनले चीन सरकारको निमन्त्रणामा पहिलो औपचारिक भ्रमण गरेकी थिइन् ।

No comments: