News

Dec 21, 2010

बेलायतसँग इरानको पूरै सम्बन्धविच्छेद गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेहरान/ इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेशनीति आयोगले आइतबार बेलायतसँग इरानको पूरै सम्बन्धविच्छेद गर्ने निर्णय गरेको छ । सांसद मोहम्मद कारामी-रादले फार्ससँग बोल्दै आयोगको आइतबार बसेको बैठकले बेलायतसँग इरानको पूरै सम्बन्धविच्छेद गर्ने निर्णय गरेको र त्यस निर्णयलाई अब संसद्ले पारित गर्नुपर्ने बताए । आयोगको यस्तो निर्णय छलफलका लागि सकेसम्म छिटो संसद्मा पठाइने भएको कारामी-रादले बताए । बैठकमा केही इरानी विदेश नीतिसम्बन्धी अधिकारीहरू पनि उपस्थित भएको जनाइएको छ । उनले आयोगका सदस्यले इरानका लागि बेलायती राजदूतले गरेको टिप्पणीको पनि आलोचना गरेको बताए । तेहरानस्थित बेलायती राजदूतावासले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा वेबसाइटमा राखेको एक टिप्पणीमा राजदूत सिमोन गासले इरानको मानवअधिकार स्थितिको आलोचना गरेको बताइएको थियो । वेबसाइटमा उनले भनेका थिए, 'बेलायत सरकारले इरानमा मौलिक अधिकारको हनन भएर दमनमा परेका जनताको विषयमा इरानको ध्यानाकर्षण गर्ने काम जारी राख्नेछ ।' यसअघि गत हप्ता आयोगका प्रतिवेदक काजेम जलालीले बेलायती राजदूतको इरानको मानवअधिकारमाथिको टिप्पणीलाई लिएर आयोगले बेलायतसँगको सम्बन्ध कम गर्न छलफल गर्ने धम्की दिएका थिए ।

No comments: